क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । पछिल्लो समय प्रहरीले पीडितलाई सहयोग गर्ने प्रतिबद्धतालाई झन जोरसोरका साथ सार्वजनिक गरिरहेका छन् । तर ब्यबहारमा लागु नगर्ने गरेको अवस्थामा सप्तरीमा देखिएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि नै पीडितलाई झन पीडा दिने काम गरिदै आएको छ । समस्यामा परेका पीडित न्यायको लागि प्रहरी पुग्न जिल्ला प्रहरी अगाडि चर्को आर्थिक मार खप्ने गरेका छन्।
न्यायको आशा लिएर प्रहरीमा पुग्ने गरेका पीडितलाई सप्तरीमा झन पीडा हुन गरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडि नै ढाडो निवेदनदेखि जाहेरी दर्खास्तसम्ममा अवैध रूपमा चर्को मुल्य असुल्ने गरेको छ । पीडितले निवेदन दिनलाई ५ सय देखि जाहेरी दरखास्तको दुई /तीन हजार रुपैयाँसम्म तिर्नुपर्दछ ।जाहेरी निवेदन लेख्न नआउने पीडितलाई प्रहरीले नै जाहेरीमा नि: शुल्क सहयोग गरि दिनुपर्ने कानुनी व्यवस्था छ । तर त्यसमा सप्तरी प्रहरीले चासो दिएको छैन । यता कार्यालय अगाडि बिना बिल बिजक अवैध रूपमा चर्को रकम लिएर जाहेरी र निवेदन लेख्ने गरिएपनि प्रहरीले नदेखेको जस्तो गरेको छ । उल्टै प्रहरी भित्रबाटै बाहिरबाट निवेदन लेखाएर ल्याउन भन्ने गरेको पीडितहरूको गुनासो छ । चर्को मुल्य तिरेर जाहेरी लेखाएपनि दर्ता हुन अत्यन्तै कठिन रहेको देखिन्छ । अधिकांश अवस्थामा निवेदन र जाहेरी दर्ता नै नहुने गरेको पनि देखिन्छ । महदेवा गाउँपालिका –६का बिनोद यादवलाई पनि मर्नासन कुटेको मुद्दामा उनका भाइ ललटु यादवले ज्यान मार्ने उद्योगको जाहेरी दर्ता गर्न सबै प्रमाणसहित शुक्रबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालय धाइरहेपनि आइतबार साँझसम्म उनको जाहेरी दर्ता हुन सकेको थिएन । पीडितका भाई निवेदक ललटु यादवले सबै प्रमाण पुगेपनि आजभोलि भन्दै डुलाइरहेको बताए ।
उनले प्रहरी कार्यालय अगाडि नै जाहेरी लेखाए बापत तीन हजार रूपैयाँ माग्दा दुई हजार दिएर जाहेरी लेखाएको बताए । तर जाहेरी भने हालसम्म दर्ता भएकप छैन ।
न्यायको गुहार गर्दै जिल्ला प्रहरी कार्यालय पुग्ने जोकोहीको अवस्था यस्तै छ । तर प्रहरीले आफ्नो काम नगरिदिने की भन्ने डरले कोही आफ्नो पीडा सार्वजनिक रूपमा सुनाउन चाहदैनन् । नाम नखोल्ने सर्तामा एक पीडितले भने,’भित्र प्रहरीमा जाँदा बाहिरबाट जाहेरी लेखाएर ल्याउन भन्यो यता एउटा जाहेरीको तीन हजार रूपैयाँ माग्दै थियो, पैसा छैन भन्दाभन्दै १५ सयमा लेखाए ।’
जाहेरी लेखाए बापत लिएको शुल्कको कुनै बिल बिजक नदिने गरिएको छ ।
यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बर बहादुर पुरीले लेखापढी व्यवासाय दर्ता गराएकाले जाहेरी लेखे बापत शुल्क लिन पाइयो भन्दै प्रहरी कहाँ लेख्न नसक्ने कोही पीडित आए लेखिदिने प्रतिक्रिया दिए ।















