क्रान्ति केन्द्र सम्वाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली राजनीतिमा महिला सहभागिता वृद्धि गराउनु आफ्नो आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको दावी गरे।
सप्तरी–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका यादवले बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्व राजनीतिक इतिहासमा संसदमा नेपालजस्तो महिला सहभागिता भएका मुलुक कमै रहेको बताएका छन्।
उनले एसिया महादेशमा सबभन्दा बढी महिला सहभागिता नेपालमै रहेको बताए ।’चिन, भारत, जपान, अमेरिका, बेलायत भन्दा पनि बढी सहभागिता नेपालमा छ,’ उनले भने, ‘संसद, प्रदेश, स्थानीय तहमा उल्लेखनीय सहभागिता छ, यो हाम्रो आन्दोलनले आएको हो, यो कम ठुलो सफलता होइन् ।’
आफ्नै आन्दोलनले मधेशीसँग शासक वर्ग समुदायले गर्ने व्यवहारमा परिवर्तन आएको बताए । उनले ‘पहिला मधेशीलाई धोती मरसिया के के भनेर हेपिन्थ्यो, नाम मात्रको अधिकार थियो तर आन्दोलनपछि अहिले दलित, आदिवासी, जनजाति, मधेशीले निश्चित मात्रमा समावेशिता पाएको छ।’
अध्यक्ष यादवले संविधान संशोधनको विषय पुनः दोहोराउँदै वर्तमान संविधानमा देखिएका त्रुटि र अस्पष्टताले राजनीतिक अस्थिरता निम्त्याएको दाबी गरे। संविधान बाहिरबाट भएको संसद विघटन र त्यसपछिको सरकार निर्माण प्रक्रियाले पनि संविधान संशोधनको आवश्यकता प्रष्ट पारेको उनको भनाइ थियो।
‘आफुहरुले भन्दै आएको थियो संविधानमा त्रुटि छ, संविधान बाहिरबाटै संसद विघटन र सरकार बन्नुले पनि स्पष्ट पारेको छ,’ उनले भने ।
उनले शिक्षा, स्वास्थ्य, रोजगार र न्यायजस्ता आधारभूत विषयको जिम्मेवारी राज्यले पूर्ण रूपमा लिनुपर्नेमा जोड दिए। यी क्षेत्रलाई राज्यको प्राथमिक दायित्वका रूपमा स्थापित गरी नागरिकलाई सहज र समान पहुँच सुनिश्चित गर्नुपर्ने उनको धारणा थियो ।















