क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा बरख गणको आयोजनामा शनिबार एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । श्री नम्बर २७ फिए गुल्म र छिन्नमस्ता गाउँपालिकाको संयोजनमा लोखरमको स्वास्थ्य चौकीमा आयोजित शिविरमा ५ सय बढी जनाले सेवा लिएका छन् ।
केही महिनाअघि लोखरमस्थित मुसहर बस्तीमा हैजाको प्रकोप फैलिएकाले स्थानीयवासीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पालिकासँग समन्वय गरी शिविर आयोजना गरिएको बरख गणका प्रमुख सेनानी सोबित बहादुर चन्द बताउँछन् । शिविरमा सामान्य ओपीडी सेवा, आँखा उपचार, स्त्री तथा प्रसूति रोग, बालरोगसम्बन्धी उपचार सेवा प्रदान गरिएको छ भने चश्मा तथा निःशुल्क औषधि वितरणसमेत गरिएको छ।
गाउँमै सहज उपचारको उदेश्यले आयोजित शिविरमा बिरामीहरुको उत्साहित भीड देखिएको थियो। खासगरी शिविरमा बृद्धबृद्धाको संख्या उल्लेखनीय रहेको थियो । गरिब विपन्न परिवारलाई गाउँमै उपचार सेवा उपलब्ध भएपछि सहज भएको सेवाग्राही बताउँछन् । यस्तो शिविर समय–समयमा आएदिए निकै सहज हुने उनीहरुको भनाइ छ ।
यसै अवसरमा स्वेच्छाले रक्तदान कार्यक्रम समेत राखिएको थियो । छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीसहित एक दर्जन बढी स्थानीयले रक्तदान समेत गरेका थिए । सो वडाका वडाध्यक्ष जयप्रकाश ठाकुरले यहाँ गरिब विपन्नको संख्या अधिक भएकोले शिविरको समय थप आग्रह गरेका छन् ।
शिविरमा अन्य सुविधा भएपनि यहाँ रगत पिसाब जाँच गर्ने ल्याब राखिएको थिएन । अबको दिनमा शिविरमा जाँचको ल्याब पनि राख्न सेवाग्राहीको माग छ ।















