क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले ३०औं लोकेन्द्र स्मृति पुरस्कार पत्रकार विनय कुमार लाल कर्णलाई प्रदान गरेका छन् ।
शनिबार महासंघ कार्यालयमा आयोजना गरिएको ३२औं स्मृति दिवसको कार्यक्रममा प्रमुख अतिथिद्वय ललिता साह र राजु विश्वकर्मासहित पुरस्कार छनौट समितिका संयोजक शाखाका पुर्व अध्यक्ष बिष्णु मंडलले कर्णलाई प्रमाणपत्र तथा नगद हस्तान्तरण गरे।
पुरस्कार राशि नगद ५ हजार ५ रुपैयाँ रहेको महासंघका कोषाध्यक्ष नविन गुप्ताले बताए ।
सल्यान जिल्ला घर भए सप्तरीमा पत्रकारिता गर्दै आएका बुढाथोकीको २०५० सालमै रहस्यमय मृत्यु भएको थियो । त्यसको दुई सालपछि उनको स्मृतिमा सप्तरी शाखाले पुरस्कार दिने चलन सुरू गरेको छ । त्यसपछि एक बर्ष आन्तरिक समस्याले गर्दा पुरस्कार वितरण नभएकोले यो ३०औं पुरस्कार वितरण रहेको हो। यो पुरस्कारको लागि साहसिक र बर्षभरिमा गरेको चुनौतीपुर्ण समाचारसहितको मुल्यांकन गरि प्रक्रिया मार्फत पत्रकार छनौट गर्ने गरिन्छ ।
उक्त कार्यक्रममा बोल्दै पुरस्कार छनौट समितिका संयोजक मंडलले ३२ बर्षमा पनि बुढाथोकीको मृत्युको अनुसन्धान नसकिएको बिषयमा राज्यलाई ध्यानाकर्षण माग गरेका छन् ।















