विपिन यादव
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–६ का दिनेश सदा र उनकी श्रीमती रितादेवी आफ्नो तीन जना बच्चासहित एकै कोठामा बस्दै आएका छन् । सम्पत्तिको नाममा माटोको भित्तामा टिनको छानाको दुई कोठे घर मात्र रहेको सदा दम्पती दैनिकी ज्यालादारी गरेर छाकटार्ने परिवार हुन् । त्यसमा एक १६ बर्षीय छोरी निशासहित दुई छोरी र एक छोराको लालनपालन पनि गर्नुपर्ने रहेको छ । यस्तोमा १० दिन अघि हजुरआमाको कपडा धुन गएकी निशा अचानक बेहोस भएपछि उनको एक हात र खुट्टा थाला परेर उनको भारतबाट उपचार भइरहेको छ ।
‘हजुरआमाको कपडा धुन पोखरीमा गए त्यही ढले, रातभरि घरमा आराम गरे, विहान हेर्दा एक भागको हात, खुट्टा चलिरहेको थिएन,’ निशाले भनिन्, ‘आमाले ऋण लिएर उपचार गराउन भारतको बिहास्थित खरैया बजारमा पुगेर उपचार थालेपछि अहिले अलि निको हुन लागेको छ ।’
निशाकी आमा रिता देवीका अनुसार आफ्नो नाकको गहना बन्धकी राखेर १५ हजार रुपैयाँ ऋण लिएर छोरीलाई उपचार गराउन सुरु गरेकी छन् । उपचार सुरु गरे लगत्तै उनको सासुआमा पनि उपचार नपाएर बितेपछि उनको परिवारको अहिले विचल्ली भएको छ । छोरीलाई उपचारले निको भइरहेपनि अहिले पनि थुप्रै पैसा खर्च हुने डाक्टरले भनेको उनी बताउँछिन्। यता सासुआमाको क्रिया खर्च कसरी जुट्ने भने चिन्ता छ । समाजमा ऋण पनि तिर्न सक्ने हैसियत देखेरै ऋण पनि लगानी गर्न गरिएको उनी बताउँछिन् ।
‘औषधी उपचारमा १३ हजार खर्च भयो, उताबाट औषधि गराएर आउँदा यहाँ सासुआमा बिरामी भइन्, उनलाई यहीको अस्पताल लग्यों तर उपचार सम्भव भएन,’ रिताले भनिन्, ‘डाक्टरले अर्को सुविधा भएको ठाउँमा जान भन्यो, तर पैसा धेरै लाग्ने भयो, जोहो गर्नै लाग्दा आमा बितिन।’
दिनेश पहिला गाउँमै सिटि चलाएर जिवनयापन गर्दै थिए।तर त्यसमा कमाइ बचत नहुने देखेपछि अहिले उनी भारतमा मजदुरी गर्छन् । आमाको क्रियामा बसको उनी काम गर्न नसक्दा ऋण उठाएरै छाक पनि टार्ने गरेका छन् । अब थप काम पनि ऋण लिएरै गर्नुपर्ने अवस्थामा उनलाई बिरामी छोरीलाई थप उपचार गराउन कसले ऋण दिने भने पनि चिन्ता छ । यता आमाको क्रियाको लागि पनि अति नै कठिनाई भइरहेको दिनेश बताउँछन् ।
शितलहरमा जिवनयापन गर्ने कठिनाइ भइरहेको बेला आमा देहान्तको दु :ख र छोरी बिरामीको पिरमा उनी दाताको मुख ताकी रहेका छन् । कोहीले सहयोग गरे मात्र उनलाई राहत हुन सक्ने छ ।
‘ऋणमाथि ऋण थुप्रिदै छ, आफु पनि क्रियामा बस्दा पैसाको स्रोत केही छैन्, क्रियाको लागि पनि कर्जै लिनुपर्छ, अब ऋण दिन पनि कोही चाहँदैनन् ।’















