क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी जिल्लामा अवैध रूपमा विदेशी नागरिकहरू प्रवेश गर्दै आएका हुनसक्ने आशंका बढेपछि जिल्ला सुरक्षा समितिले कडाइका साथ निगरानी तथा नियन्त्रणका निर्णय सार्वजनिक गरेको छ। सीमावर्ती क्षेत्र तथा शहरी बस्तीमा देखिएको असामान्य गतिविधिपछि बैठक बसेर प्रशासनले तत्काल लागू हुने गरी निर्णयहरू जारी गरेको हो।
जिल्ला प्रशासनका अनुसार विदेशी नागरिकको आवत–जावत, बसोबास तथा सम्भावित जोखिमपूर्ण गतिविधि नियन्त्रणका लागि सुरक्षालाई सुदृढ बनाउन समन्वयात्मक मोडालिटी अपनाइएको छ। निर्णयअनुसार जिल्लाभर सुरक्षाकर्मीले पेट्रोलिङ तथा अनुगमन तत्काल तीव्र बनाउने छन्।
इजाजत बिना कार्यरत विदेशी नागरिक, पर्यटन भिसामा आएर श्रम कार्य गर्ने, वा परिचय नखुलेका व्यक्तिको गतिविधि माथि विशेष चासो राखेर सम्बन्धित निकायले कानुनी कारबाही अघि बढाउने प्रशासनले जनाएको छ। सीमावर्ती ७८ किलोमिटर क्षेत्रभित्र विदेशी नागरिकको आवतजावत कडाइका साथ जाँच गरिने र अनियमितता देखिएमा नेपाल प्रहरीले सशस्त्र प्रहरीसँग समन्वय गरी नियन्त्रण गर्ने व्यवस्था मिलाइएको छ।
विद्यालयमा विद्यार्थी भर्ना गराउने क्रममा विदेशी वा शंकास्पद व्यक्तिको संलग्नता भेटिएमा अनिवार्य रूपमा सुरक्षा निकायलाई जानकारी गराउन निर्देशन दिइएको छ। स्थानीय तह, वडास्तरको नेतृत्वलाई विदेशी नागरिकको गतिविधि पहिचान गरी आवश्यक सूचना संकलन तथा साझा गर्न समेत जिम्मेवारी तोकिएको छ।
जिल्लास्थित होटल तथा लजमा बस्न आउने विदेशी नागरिकले आफ्नो परिचय खुल्ने कागजात पेस नगरी बस्न नपाउने र रातिकालीन आवतजावतलाई विशेष निगरानीमा राखिने निर्णय गरिएको छ। यसैगरी, धार्मिक गतिविधि, धर्म परिवर्तन वा समुदायमा तनाव उत्पन्न हुनसक्ने विदेशी संलग्न गतिविधि पत्ता लागेमा तुरुन्तै जिल्ला प्रशासन र सुरक्षालाई खबर गर्न सबैलाई आग्रह गरिएको छ।















