क्रान्ति केन्द्र सम्वाददाता
आमसञ्चार प्राधिकरण मधेश प्रदेशले राजविराजमा पत्रकारहरुलाई एआइ सम्बन्धी एकदिने तालिम सम्पन्न गरेको छ। प्राधिकरणका अध्यक्ष जितेन्द्र खडकाको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकारहरुलाई एआइ प्रयोग बारे प्रशिक्षण दिइएको हो ।
प्रदेशभरका सञ्चारकर्मीलाई दिगो र जिम्मेवार डिजिटल प्रयोगतर्फ अभिमुख गराउने उद्देश्यसहित आयोजित उक्त तालिममा सप्तरीका संचारकर्मीहरूको उपस्थिति उल्लेखनीय थियो।
एआइ प्रविधिको विकसित हुँदै गएको प्रभाव, पत्रकारितामा यसको सम्भावना, जोखिम व्यवस्थापन, गलत सूचना नियन्त्रण, तथ्य–जाँचमा एआइको भूमिका तथा व्यावसायिक नैतिकतासँग यसको सम्बन्धबारे विस्तृत रूपमा जानकारी दिइयो। साथै एआइ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, डाटा सुरक्षाको महत्व र सामाजिक सञ्जालमा देखापर्ने एआइ–जन्य चुनौतीबारे पनि सहभागीहरुलाई प्रशिक्षण प्रदान गरियो ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका प्रतिनिधिहरूले भविष्यमा पनि यस्ता प्राविधिक तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। तालिमले स्थानीय तहका पत्रकारहरूलाई डिजिटल प्रविधिप्रति अझ सशक्त र जिम्मेवार बन्न सहयोग गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् । उनीहरूले मधेश प्रदेशको आठै जिल्लामा यो तालिम संचालन गर्ने बताएका छन् ।















