क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । आफ्नो १६ वर्षीया छोरीसँग जबरजस्ती करणी भएको घटनामा वृद्ध बुबा पछिल्लो सात दिनदेखि जिल्ला प्रहरी कार्यलय सप्तरी धाइरहे।सातौं दिन उनलाई त्यहाँ मुदा दर्ता नहुने बताएपछि उनी निराश भएर घर फर्के ।
आफ्नै गाउँका बिर्तामोडमा मजदुरी गरी बस्ने २१ वर्षीय युवाले विवाह गर्ने प्रलोभनमा बोलाएर गत मंसिर ६ गते बलात्कार गरेको पीडितको भनाई छ। एक बर्षदेखि केटासँग सम्बन्धमा रहेको उनले विवाहको आश्वासन दिएर बलत्कार गरेर बिबाह नगर्ने भनेर फर्काइदिएपछि बुबासहित सात दिनदेखि जिल्ला प्रहरी कार्यलय सप्तरी धाइरहँदा मंगलबार उनलाई सप्तरीमा जाहेरी दर्ता नहुने प्रहरीले भन्यो । घटनाबारे छोरीबाट जानकारी पाएपछि बालिकाका बुवाले गत बुधबार(मंसिर १० गते) नै जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएका थिए। पीडित बालिकाको अनुसार उनीसँग पनि एक महिला प्रहरीले घटनाबारे बयान लिएका थिए ।तर त्यहाँबाट प्रहरीले उनका बुबालाई एउटा पर्ची दिएर प्रहरी चौकी पठाए । उनीहरूलाई कुटपिट सम्बन्धी ठाडो उजुरीको दर्ता नम्बर (४२३)को पर्ची र आरोपी झिकाउनका लागि प्रहरी चौकीलाई लेखिएको पत्र दिएर पठाएको थियो। प्रहरी चौकीले केटा र उसको बाबुलाइ आइतबार झिकाउने भन्दै फर्काइदिए ।
पढन लेख्न नजान्ने पीडितका बुबा आइतबार चौकी पुग्दा मात्र फरक उजुरी दर्ता भएको थाहा पाएर उनी छोरीसहित जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगे। तर प्रहरीले उनको जाहेरी दर्ता गरेन। प्रहरीले छोरीको जन्मदर्ता लिएर भोलिपल्ट आउन भनेपछि फेरि उनी फर्के ।जाहेरी लेखाउन उनले ऋण गरेर २५ सय रुपैया तिरेको बताए ।सोमबार जन्मदर्ता लिएर गएपछि दिनभर उनी जिल्ला प्रहरीमा पर्खिदा समेत काम भएन।यति भइरहँदा सप्तरी प्रहरीले उनको मेडिकल जाँच समेत गराएन ।जाहेरी दर्ताको बिषयमा सोमबार हामीले जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रवक्ता डिएसपी डम्बर बाहादुर पुरीले आज मात्रै आफु समक्ष जाहेरी आएको र सोमा अध्ययन गरेर थप प्रक्रिया गर्ने बताए ।मंगलबार पीडितको बुबा जिल्ला प्रहरी पुग्दा यो घटना झापामा घटेकोले यसको जाहेरी झापमै दर्ता हुने भन्दै पठाएको उनले बताए।मुद्दा फाँटका प्रहरी निरिक्षक प्रमोद कुमार साहले पनि मंगलबार उनको मुदा झापामा दर्ता हुने सम्झाइ बुझाएर पठाएको बताए ।
आर्थिकस्थिति कमजोर भएकोले झापा गएर मुदा दर्ता गर्न पैसाको जोहो गरिरहेको बालिकाको बुबाले बताए ।पैसाको अत्यन्त खाँचो रहेको समयमा सप्तरीमा जाहेरी लेखाइ र भाडामा खर्च भएको पैसा व्यर्थ नै भएको उनको गुनासो छ।















