राजु शर्मा/ विपिन यादव
राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिका–६स्थित पौरा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको छ। नेपालको कानुन अनुसार नगरपालिका वा गाउँपालिकाले आफ्नो क्षेत्रको नदी, पोखरी, ताल लगायतका ठाउँका टेन्डर लगाएर राजश्व संकलन गर्ने व्यवस्था छ । तर नगरपालिकाले टेन्डर नगरेपनि यहाँ कानुन मिच्दै केही व्यक्तिले मनोमानी ढंगले बालुवा उत्खनन गरिरहेको पाइएको छ । मंगलबार बिहान सातवटा बढी ट्र्याक्टरमा बालुवा लोड भइरहेको थियो।
सो वडाका वडाध्यक्ष बच्चु लाल चौधरीले पनि प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (एआइई) भएपनि यस आर्थिक वर्षमा पालिकाले टेन्डर नगरेको बताए ।
यद्यपी चालु आर्थिक बर्षमा डेढ महिनादेखि उक्त नदीमा बालुवा उत्खनन भइरहेको छ । तर नियामक निकायको यसमा ध्यान पुगेको छैन् । नदीमा बालुवा उत्खनन गर्ने उमेश दासले नगरपालिकामा पटकपटक छलफल गरेपनि टेन्डर नलगाउँदा हामीले सामजिक छलफलबाट बालुवा उत्खनन गरिरहेको बाहना बनाए। प्रति ट्र्याक्टर एक सय रूपैयाँको दरले जम्मा गरेर त्यहाँ हेरचाह गर्नेलाई दिएर बचेका रकम समाजमा विकासीय काम गर्न लगाउने गरेको उनले बताए ।
असोज ९ गतेदेखि मसान्तसम्ममा एक लाख एघार हजार रुपैयाँ समाजको लागि छुट्याएको र त्यसबाट कर्मचारीलाई दिएर ७८ हजार रुपैयाँ समाजमा लगाएको उनले दाबी गरे । उनकै भनाइ अनुसार दैनिकी औसतमा ५५ ट्रयाक्टर बालुवा उत्खनन हुने गरेको देखिन्छ । बजारमा उक्त बालुवा प्रति ट्याक्टर कम्तीमा तीन हजारको दरले उपलब्ध हुने गरेको छ । यसले उनीहरूले दैनिकी एक लाख ६५ हजार र मासिक झण्डै पचास लाखसम्मको कारोबार गर्ने गरेको छ । तर यसबाट राज्यले एक रुपैयाँ पनि पाइरहेको छैन् ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले यस्तो काम नगर्ने कानुनी व्यवस्था रहेको र गरिए कारबाही हुने प्रतिक्रिया दिए।
यस बिषयमा नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई बुझ्न पालिका कार्यालय जाँदा उनीहरू कार्यालयमा भेटेनन् ।















