क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका ७० बर्षीय सिताराम मंडल सोमबार उपचारको लागि घरबाट १५ किलोमिटर टाढा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगे । तर उनलाई उपचार नै नपाइ घर फर्किनु पर्यो। एक घण्टा अस्पतालमा पर्खिएपछि चिकित्सकले आज बिरामी नहेर्ने थाहा पाएपछि उनी फर्किए । उनी करेन्ट लागेर छालामा देखिएको समस्या जचाउन आएका थिए। ‘आइतबार जाँच गराए, ल्याब रिपोर्ट सोमबार आउने र त्यसपछि मात्र चिकित्सकले औषधि लेख्ने भनेको थियो, तर आज यहाँ आउँदा जाँच गर्ने कोही छैन, चिकित्सक बस्दैन् भन्छन्,’ उनले भने,’ ‘हिजो पनि गाडीमा भाडा खर्च भयो, आज पनि भयो तर दुई दिनमा पनि काम भएन ।’
सोही अनुपातको दुरी पार गरेर महादेवा गाउँपालिकाबाट शिवनारायण यादव पनि अस्पताल पुगेका थिए । उनी पनि आइतबार टाउकोमा चोट लागेर उपचार गराउन आएका थिए तर केही उपचार बाँकी रहेकोले सोमबार आउन भनिएको थियो । उनी सोमबार आउँदा चिकित्सक ओपीडीमा थिएन ।
त्यस्तै, अनिल यादव आफ्नो छोराको खुट्टा भाँचिएर जाँच गराउन आएका थिए, तर उपचार हुन सकेन् । गितादेवी आफ्ना गर्भवती बुहारीलाई लिएर उपचार गराउन आएकी थिइन् । उनी पनि दश बजेदेखि १२ बजेसम्म अस्पतालमा चिकित्सकको लागि पर्खिन । अनि बल्ल चिकित्सक ओपीडी नबस्ने हडतालमा रहेको थाहा पाइन् ।
यी उदाहरणका पात्र मात्र हुन । अस्पतालकै तथ्याङ्क अनुसार यहाँ औसतमा दैनिकी तीन सय जना बिरामी ओपीडीमा जाँच गराउन आउँछन् । सोमबार अस्पतालमा ओपीडीमा हेराउन आएका सबैलाई यसरी नै निराश भएर फर्किनु पर्यो ।
अस्पतालमा ओपीडी संचालन हुन नसकेको कारण हो आइतबार अस्पतालमा भएको घटनाक्रम। आइतबारै जन्मेको जिल्लाकै रूपनी गाउँपालिका–३ हर्दियाकी रेखा यादवको नवजात शिशु अस्पतालको एनआइसीयु वार्डमा भर्ना थियो। अचानक साँझ चिम झडेर अस्पतालमा बेडमा आगो लाग्दा शिशुको टाउको र हात पोल्यो । त्यसपछि आक्रोशित बनेका उनका आफन्त तथा केही युवाहरूको समुहले अस्पतालमा उपद्रव मच्चाए । उनीहरूले अस्पतालमा ठाउँमा ठाउँमा आगजानी गर्दै इमर्जेन्सीको ल्याबमा तोडफोड गरे।
अस्पतालका निमित्त मेसु डा.दिलिप साहलाई हातपातको प्रयास समेत गरेको अस्पताल प्रशासनको भनाई छ । काम गर्न सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाही नभएसम्म कोही पनि कर्मचारी कामकाजमा नफर्किने अडान लिएको अस्पतालका निमित्त मेसु डा दिलिप साहले बताएका थिए । सोमबार साँझ अस्पताल प्रशासनले सुचना जारी गर्दै आन्दोलन स्थगित भएको जानकारी गराए ।
अस्पतालमा समान्य विवाद भएदेखि नै वाक्लो प्रहरीको उपस्थिति रहेपनि उनीहरूकै सामने तोडफोडदेखि आगाजनी गरिएको थियो । सुरुमा आगो लगाइरहँदा प्रहरीले उनीहरूलाई सम्झाउने काम गरेर नरोकिएपछि अन्तमा लाठीचार्ज गर्न एसक्नमा आएपछि उनीहरू तितरबितर भएर स्थिति नियन्त्रणमा आएको थियो । घाइते शिशु अहिले विराटनगरको अस्पतालमा खतरामुक्त अवस्थामा उपचाररत रहेको बुझिएको छ ।
प्रहरीले अस्पतालमा उपद्रव गर्ने राजविराज नगरपालिका–४का विनित चौहान, उदय ठाकुर, बिष्णुपुर गाउँपालिका–६ परमेश्वर यादव र उनका छोरा रमण यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतम कुमार केसीले जानकारी दिए । उनीहरूमाथि म्याद थप गरी अनुसन्धान थालिएको छ ।















