क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जेन–जी सप्तरीले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन तत्काल जारी गर्न माग गरेका छन् ।
स्वास्थ्यमन्त्रीलाई जेन–जी समुहले
मंगलबार ज्ञापनपत्र बुझाउँदै रामराजा प्रतिष्ठान र गजेन्द्रनारायण सिंह अस्पताल बारे माग सारेका हुन् ।
प्रतिष्ठानको ऐन मन्त्री परिषदको अध्यक्षबाट जारी गराउन उनीहरूले माग गरेका छन् ।
‘प्रतिष्ठानको ऐन/विधेयकको मस्यौदा प्रतिष्ठान समितिको बैठकबाट पारित भई, जनस्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत स्वीकृत भइसकेको छ,’ पत्रमा उल्लेख छ, ‘नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को अध्यक्षबाट उक्त ऐ जारी गर्न गराउनको लागि अनुरोध गर्दछौँ ।’
प्रतिष्ठानले मधेश प्रदेश तथा देशको पूर्व-दक्षिण क्षेत्रका जनतालाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा उपलब्ध गराउने लक्ष्य राखेकोले ऐन जारीमा ढिलाइ हुँदा सेवाको विस्तार, जनस्वास्थ्य सुधार, र जनअपेक्षा प्रभावित भइरहेको उल्लेख छ ।
पत्रमा गजेन्द्र नारायण सिंह अस्पतालमा तीन शैयाको पूर्वाधार तयार भइसकेकाले त्यसलाई पूर्णरूपमा सञ्चालन गर्न आवश्यक सहयोग गर्न पनि सरकारसँग माग गरिएको छ।















