क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मधेश प्रदेश सभामा विश्वास मत लिन गएका मुख्यमन्त्री सतिश कुमार सिंहले बोली फेर्दै राजीनामा दिएका छन्। सरकारमा सहभागी आफ्नै दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंहले मंगलबार विश्वासको मतको लागि समय माग गरेका थिए । तर सदनमा उनी बाहेक कोही सांसद पक्षमा नदेखिएपछि उनले सदनमा रोष्टमबाट राजीनामा घोषणा गरे ।
जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई पदबाट फिर्ता बोलाएपनि नआएपछि पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको थियो । त्यसपछि सरकारबाट एक-एक गरि कांग्रेस, एमाले, लोसपासहितका दलहरुले पनि समर्थन फिर्ता लिए । यद्यपी मुख्यमन्त्री सिंहले विश्वास मत मार्फत सदन फेश गर्ने अडान लिएका थिए । तर विश्वास मतको समय मिलाएर प्रस्ताव सभामुखले उनलाई प्रस्तावको लागि आह्वान गरेपछि उनी एकाएक फेरिए । रोष्टमबाट उनले राजीनामा दिएको बताएपछि सभामुख रामचन्द्र मंडलले विश्वासको मतको आवश्यकता नरहेको घोषणा गरे । मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखलाई लिखित राजीनामा बुझाएपछि उनको राजीनमा स्विकृत भयो । यसअघि जेनजी आन्दोलनको क्रममा फेसबुकमा पदबाट राजीनामा दिएका मुख्यमन्त्री सिंहले पछि बोली फेरेपछि उनको व्यापक आलोचना भइरहेको छ ।
नयाँ सरकारको लागि आह्वान
मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान गर्दै बुधबार नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेको हो ।
नयाँ सरकार गठनका लागि बुधबार अपरान्ह ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दावी पेश गर्न आह्वान गरिएको छ।
मधेश प्रदेश सभामा ६४ प्रत्यक्ष र ४३ समानुपातिक गरी १०७ सदस्यीय प्रदेश सभा सदस्य छन्।
नेकपा एमालेले २५, नेपाली कांग्रेसको २२, जनता समाजवादी पार्टी नेपालले १९, जनमत पार्टीले १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले ९/९, नेकपा एकीकृत समाजवादीले ७, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले १/१ सिट जितेका छन्।
एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य रामचन्द्र मण्डल सभामुख भएका छन् भने दिपेन्द्रकुमार ठाकुर निलम्बनमा पर्दा एमालेसँग २३ सिट मात्रै छ।
अर्कातर्फ लोकतान्त्रिक समाजवादी पार्टीका अभिराम शर्मा पनि निलम्बनमा छन्।
मुख्यमन्त्री बन्नका लागि हाल कायम सदस्यको बहुमत सदस्य अर्थात ५३ सदस्यको समर्थन चाहिन्छ ।















