क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । दशैंअघि कर्मचारीलाई तलब–भत्ता वितरण हुन नसकेकोप्रति शम्भुनाथ नगरपालिकाले क्षमायाचना व्यक्त गरेको छ। नगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै आर्थिक प्रशासन शाखा प्रमुख (लेखा अधिकृत) को गतिविधिका कारण कर्मचारीलाई समयमा तलब सुविधा उपलब्ध गराउन नसकिएको स्पष्ट पारेको हो ।
नगरपालिकाको भनाइअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत भदौ १६ गते १६औं नगरसभा सम्पन्न भएको थियो। सो निर्णय नगर प्रमुखले असोज ७ गते मात्र स्वीकृत गरेका थिए। त्यसपछि प्रमुख प्रशासकीय अधिकृतले असोज ८ गते बिहान ८ बजे आर्थिक प्रशासन प्रमुखलाई सुत्र प्रणालीमा बजेट प्रविष्टिका लागि जिम्मेवारी तोकेका थिए।
यसअघि कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखबीच भएको छलफलअनुसार असोज १० गतेसम्म सम्पूर्ण प्रक्रिया पूरा गरी बढीमा असोज १२ गतेभित्र कर्मचारीलाई तलब उपलब्ध गराउने तयारी गरिएको थियो। कार्यालय प्रमुखले सो उद्देश्यका लागि सुत्र प्रणालीको ‘आइडी पासवर्ड’ उपलब्ध गराउन माग्दा आर्थिक प्रशासन प्रमुखले असोज ७ गते पासवर्ड दिएको भए पनि पछि उक्त पासवर्ड परिवर्तन गरी आफूले मात्र बजेट प्रविष्टि गर्ने जानकारी गराएको नगरपालिकाले जनाएको छ।
कार्यालय प्रमुखले अन्य पालिकाको लेखा प्रमुखको सहयोगमा राति द्रुत रुपमा प्रविष्ट गर्ने तयारी गर्दा लेखा अधिकृतले दिएको पासवर्ड गलत रहेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसपछि उनलाई सम्पर्क गर्दा फोन लेखा अधिकृतले नउठाएको र पासवर्ड परिवर्तन गरेको भन्दै म्यासेज फर्काएको थियो ।
नगरपालिकाले दशैंअघि कर्मचारीलाई तलब–भत्ता दिन अतिरिक्त समयमा समेत काम गर्ने, प्रोत्साहन भत्ता दिने लगायत व्यवस्था मिलाएको भए पनि लेखा अधिकृतले जिम्मेवारी निर्वाह नगरेकाले समस्या उत्पन्न भएको जनाएको छ। अझ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १२० (च) बमोजिम कार्यालय प्रमुखलाई राय दिनुपर्ने भए पनि लेखा अधिकृतले ‘तलब भत्ता भुक्तान नभए आफु जिम्मेवार नहुने‘ भन्दै पन्छिएको आरोप नगरपालिकाले लगाएको छ।















