क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान घाइते अवस्थामा रहेको बताएका छन् । जेन–जी आन्दोलनमा जलेका पार्टी कार्यालयको निरीक्षण गरिहेका महामन्त्री शर्माले बिहिबार सप्तरीको राजविराजमा संचारकर्मीसँग कुराकानी गर्दै संसद विघटनले संविधान घाइते अवस्थामा गएको बताएका हुन् ।
आवश्यकताको सिद्धान्तलाई संविधानमै ल्याएर संसदको बैठकबाट गरिनुपर्नेमा नगरेपछि संविधान जिवित रहेपनि घाइते अवस्था रहेको महामन्त्री शर्माको भनाई छ ।
संसद पुनर्स्थापना वा निर्वाचन मध्ये कुन दृष्टिकोण लिने बिषयमा पार्टीमा छलफल भइरहेको उनले बताए ।
महामन्त्री शर्माले यी दुई विचार केन्द्रीय कार्यसम्पादन समितिमा आउने र यसमध्ये एकमा सहमति गरेर पार्टीले दृष्टिकोण बनाउने बताएका छन् ।
जेनीजी आन्दोलनमा संसद भवन जोगाउने नाममा युवाहरुमाथि भएको गोली प्रहार घटनाको छानविन गर्नुपर्ने बताएका छन् ।
‘त्यो दिन संसद भवन तोडिन दिए के फरक पर्थ्यो ?, २३ गतेका दिन गोली चलाएर त्यतिका नौजवानका जिवन लिनुभन्दा संसद भवन तोडिएको भए, संसद भवन जोगाउन, एउटा भितो जोगाउन जुन अधिक बल प्रयोग भए त्यसमा जो-जो होलान् ती सबैलाई छानबिन गरेर न्यायिक प्रक्रियामा ल्याएर न्यायिक आयोग बनाउने कुरामा सरकारले ध्यान दिनुपर्छ,’ महामन्त्री शर्माले भने ।
मधेश आन्दोलनले उठाएका सबै मुदा संविधानमा समावेश गराएर यसको अपनत्वको दायरा अझ फराकिलो गर्न जरुरी रहेको समेत उनले बताए ।
संसद विघटनले संविधान घाइते भएकोले निर्वाचन मार्फत ठीक ठाउँमा लिएर आउनुपर्ने उनको धारणा छ ।















