क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आइतबार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न स्थानमा दिनभर भेटघाट कार्यक्रममा देखिएका छन् ।
मुख्यमन्त्री सिंहले सप्तरीको महदेवा गाउँपालिका–५ दुर्गापुर, तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुला, वडा नं. ३ सकरपुरा र वडा नं. १ भन्सार चौकमा स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै छलफल गरेको उनका प्रेस सल्लाहकार अवधेशकुमार झाले बताए।
कार्यक्रममा स्थानीय समस्या, विकास–निर्माणका प्राथमिकता तथा जनताका अपेक्षाबारे नागरिक र मतदाताहरूले आफ्ना धारणा, सुझाव तथा मागहरू राखेका थिए। ती प्रश्नहरूको जवाफमा मुख्यमन्त्री सिंहले प्रदेश सरकार सुशासन, विकास र जनकल्याणका कार्यक्रमप्रति प्रतिबद्ध रहेको दाबी गरे।
समस्याहरूको समाधानका लागि सम्बन्धित निकायमार्फत प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिने आश्वासन दिँदै उनले युवाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढाउन आफू निरन्तर लागिपरेको बताए। संघीयताको रक्षा र मजबुतीका लागि प्रदेश सरकार दृढतापूर्वक खडा रहेको मुख्यमन्त्री सिंहको भनाइ थियो।
सो अवसरमा मुख्यमन्त्री सिंहले वडा दशैँको शुभकामना व्यक्त गर्दै सम्पूर्ण नागरिकको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।















