क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । आफुले देशमा सुधारको काम गर्न नसकेको स्विकार्दै जनमत पार्टीका अध्यक्ष डा सीके राउतले युवाहरूलाई नै आएर काम गर्न चुनौती दिएका छन् ।
कैलाश मानसरोवरको तीर्थ यात्राबाट शुक्रबार मात्रै नेपाल फर्किन पाएको बताउँदै उनले बाहिर इन्टरनेट एक्सेस राम्रो नहुँदा धेरै कुरा जान्न पाएको बताएका हुन् ।
यस बीचमा देशमा भएको दर्जनौं युवाको हत्या र सैकडौं घाइतेहरूको अवस्था देखेर मर्माहत भएको बताउँदै उनले
देश, पुन: कसरी ट्रयाकमा आउने बिषयले चिन्तामा रहेको बताएका छन्।
उनले जेनजी आन्दोलनको बहाना पारी पुराना राजनैतिक खेलाडीहरूले पुरानो दुश्मनी र रिस साध्न, निर्वाचनमा हारेको बदला लिन वा अरूले प्रगति गरेको ईर्ष्याले गाउँगाउँमा समेत एक अर्काको घरमा आगजनी गरेको टिप्पणी गरेका छन् |
जनमत पार्टीको कार्यालयहरू पनि पार्टीकै केही गद्दार र विपक्षी दलकाहरू मिलेर जलाएको उनको आरोप छ ।
डा सीके राउत सचिवालय फेसबुक पेजमा लेखेका छन् ‘ठिक छ, मानौं हामीले काम गर्न सकेनौं,तर के हामी नै बाधा हौं ?’
‘लोकतन्त्रमा सबैलाई प्रतिस्पर्धा गरेर, त्यसैले त आवधिक निर्वाचन हुन्छ| अनि हामी बाधा कसरी भयौं? हामीले सकेनौं भने तपाईंले आएर काम गरेर देखाउन कसले रोक्यो? आउनोस्, देखाउनोस् ‘ उनले लेखेका छन् ।
आफ्नो पार्टी आएको तीन वर्ष पनि नपुगेको र एक १ सीट जितेको जनमत पार्टीलाई ३५ वर्षमा हुन नसकेको कामहरू गर्न नसकेको भन्दै दोष लगाउने भन्दै उनले आक्रोश पोखेका छन् ।
‘१० लाख रोजगारी दिएको खै, हुलाकी सडक बनेको खै, कमला पुल र बकैया खोला पुल बनेको खै भनेर दोष लगाइ राख्ने? अरू पार्टीले ३५ वर्ष शासन सत्ता चलाउँदा त १ लाख रोजगारी सिर्जना गरेनन् होला, तर दोष जति हाम्रो टाउकोमा हाल्ने? अरू पार्टीले ७ वर्षसम्म मधेश प्रदेश चलाउँदा कुन विकास भयो, कस्तो जंगल राज आएको थियो, र के के भएको थियो, त्यो सबैलाई थाहा छ ।’, उनले भने, ‘तर हामीलाई टसमससम्म गर्न नदिने गठबन्धनको घेराबन्दीका बावजूद हामीले एक वर्षमा नै कति गर्यौं, त्यो पनि रेकर्डमै छ । पहिलाकोले सप्तरी २ मा के कति विकास गरेको थियो र अहिले कसरी गाउँगाउँमा विकास निर्माण भइरहेको छ, त्यो पनि सामुने नै छ, कामको सूची नै छ।’















