क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सडक डिभिजन कार्यालय लहानले सप्तरीस्थित सडक निर्माण अलपत्र गरेपछि निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ।
राजविराज–हनुमाननगर–भारदह सडक तथा रुपनी–राजविराज–छिन्नमस्ता सडक स्तरोन्नति कार्यको सोमबार सार्वजनिक सूचना जारी गर्दै डिभिजन कार्यालयले ठेक्का तोड्ने तयारी थालेको हो।
ठेक्काको म्याद पटक–पटक थपेर लिखित तथा मौखिक रुपमा काम गर्न ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढेकाले, ‘ठेक्का किन नतोड्ने’ भनी सात दिनभित्र कारणसहित जवाफ पेश गर्न भनिएको कार्यालयले जनाएको छ।
राजविराज–हनुमाननगर–भारदह सडकमा एउटा र रुपनी–राजविराज–छिन्नमस्ता सडकमा तीनवटा गरी चार ठेक्का छन्। यसमध्ये पहिलो तीन ठेक्का साह इञ्जिनियरिङ निर्माण प्रालि, शम्भुनाथ, सप्तरीले पाएको र चौथो ठेक्का ड्रामा–सम्झना जेभी, सतदोबाटो–१५, काठमाडौंले लिएको हो। दुवै कम्पनीका सबै ठेक्का अलपत्र रहेकोले दुवैसँग कारणसहित जवाफ मागिएको डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णले बताए।
साह इञ्जिनियरिङ निर्माण प्रालिले आर्थिक वर्ष २०७८/०७९ मा पाएका तीनवटै ठेक्कामा ३० प्रतिशत पनि काम नगरेको र २०७९/०८० मा ठेक्का लिएको ड्रामा–सम्झना जेभीको पनि उस्तै अवस्था रहेको कार्यालयको भनाइ छ।
निर्धारित समयभित्र जवाफ नआएमा उक्त सूचनालाई अन्तिम ताकेता मानी ठेक्का तोडी दुवै कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिनेछ।















