क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा रक्षा बन्धनको अवसरमा आयोजित दोड प्रतियोगिता सम्पन्न भएको छ। नवयुवक रक्षा बन्धन तथा झुलन समितिको आयोजनामा शनिबार भएको प्रतियोगितामा ११ जना सहभागी भएका थिए।
दुई किलोमिटर दुरीको यो दौडमा बलान नदीबाट जल लिएर बरही टोलस्थित राम मन्दिरमा चढाएर सम्पन्न गरिएको थियो। प्रतियोगितामा पहिलो हुनेले तीन हजार एक सय, दोस्रो हुनेले दुई हजार एक सय र तेस्रो हुनेले एक हजार एक सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
यस्तो कार्यक्रमले धार्मिक तथा सांस्कृतिक मूल्यको संरक्षण मात्र नभइ स्थानीय युवामा सकारात्मक ऊर्जा पनि भरेको स्थानीयसमेत रहेका पत्रकार रामशंकर भण्डारीले बताए। उनले चार बर्षदेखि दौड प्रतियोगिता हुँदै आएको बताए ।
उनले भने,’यसले गाउँमा एकताको सन्देश दिएको छ र यसले बालबालिकामा सकारात्मक प्रतिस्पर्धाको सोच जगाउँछ।’
आयोजक समितिले आगामी वर्षहरूमा पनि यसलाई अझ व्यापक र आकर्षक बनाउने योजना रहेको बताएका छन्।
















