क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। प्रेस मञ्च नेपालका उप–महासचिव तथा एभिन्युज टेलिभिजन मधेस प्रदेश ब्युरो प्रमुख वैद्यनाथ यादवमाथि राजविराज स्थित जनआन्दोलन चौकमा बुधबार साँझ समाचार सम्प्रेषणको क्रममा भएको योजनाबद्ध आक्रमणप्रति प्रेस मञ्च नेपाल संघीय समितिले घोर भर्त्सना गरेको छ । कार्यवाहक अध्यक्ष मनोज यादवले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादव माथि भएको आक्रमणको भर्त्सना गरेको हो।
‘लोकतन्त्रका आधार स्तम्भ मध्ये चौथो अंगको रूपमा रहेको प्रेसमाथि कार्यक्षेत्रमै भएको यस्तो अराजक तथा उच्छृंखल समूहद्वारा गरिएको सांघातिक आक्रमण लोकतान्त्रिक मूल्य मान्यता र कानुनी राज्यको स्पष्ट उल्लंघन हो भन्ने हाम्रो ठहर छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुर निवासी ३७ वर्षीय लालु यादवमाथि प्रहरीले चलाएको गोलीबाट मृत्यु भएको विषयमा स्थानीय संघर्ष समिति, जनप्रतिनिधि तथा नागरिकहरुसँग प्रत्यक्ष संवाद गरिरहेका बेला पत्रकार यादवमाथि आक्रमण हुनु आपत्तिजनक मात्र नभई प्रेस स्वतन्त्रता माथिको खुला धावा रहेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा पत्रकार यादवमाथि आक्रमण गर्ने दोषी उपर कडा कारबाही गर्न स्थानीय प्रशासनसंग माग गरिएको छ ।
विज्ञप्तिमा आपराधिक घटनालाई लिएर नेपाल पत्रकार महासंघ सहित सम्पूर्ण सञ्चार क्षेत्रका सरोकारवाला निकायहरूले गम्भीर सरोकार राखी आवश्यक कदम चाल्न अनुरोध गरिएको छ।















