क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको प्रथम जिल्ला अधिवेशनबाट पार्टीको जिल्ला सचिवमा निर्वाचित भएका निरज मुक्तिले सप्तरीवासीप्रति आभार व्यक्त गर्दै आफूलाई संगठन निर्माणको अवसर दिएको बताएका छन्।
जसपा नेपालको प्रदेश अध्यक्ष बालकिशोर यादवले बुधबार पार्टीको विधान, रजिष्ट्रार हस्तान्तरण गरेपछि क्रान्ति केन्द्रसँग कुरा गर्दै मुक्तिले सप्तरीका जसपा नेपाल प्रतिनिधिले दिएको अवसरलाई खेर जान नदिने बताएका छन्।
‘सप्तरीका प्रतिनिधि, पार्टी कार्यकर्ताहरूको अपार विश्वासले मलाई यो जिम्मेवारीमा ल्याएको हो। यो अवसर संगठन विस्तार र सुदृढीकरणमा खर्चिनेछु,’ उनले भने।
संगठनलाई सप्तरीमा स्थानीय तहदेखि केन्द्रसम्म बलियो बनाउँदै जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिवद्धता उनले जनाए। ‘संगठन बनाउने, जोड्ने र सक्रिय बनाउने हाम्रो मुख्य अभियान हुनेछ,’ उनले थपे।
पार्टीले केही समययता गुमाएको सांगठनिक गतिशीलतालाई अधिवेशनले पुनः जगेर्ना दिएको उनको भनाई छ।















