श्रवण वत्स
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालको सप्तरी जिल्लामा प्रथम अधिवेशनबाट सात पदाधिकारी निर्वाचित भएका छन्।
राजविराज नगरपालिका–२ स्थित साईकृष्णा मेडिकल कलेज प्रांगणमा सोमबार साँझ सम्पन्न निर्वाचनमा ५ सय १४ जना मतदातामध्ये ५ सय ४ जनाले मतदान गरेका थिए।
मंगलबार बिहान आएको निर्वाचनको परिणाम अनुसार अध्यक्ष पदमा केदार प्रसाद यादव २ सय ३५ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी उमेश प्रसाद यादवले २ सय ५ मत प्राप्त गरे।
उपाध्यक्षमा लक्ष्मण यादव २ सय ३५ मत र हरेराम यादव २ सय २६ मत सहित निर्वाचित भए।
सचिवमा निरज मुक्ती २ सय ३१ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी शम्भु कुमार यादवले २ सय ३० मत ल्याए।
उपसचिवमा रिता कुमारी चौधरीले २ सय ३४ र रामेश्वर कौगडिया यादव २ सय ३५ मत ल्याएर निर्वाचित भए।
कोषाध्यक्षमा अमरेन्द्र कुमार यादव (अर्विन) २ सय ३५ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी अभिनव यादव (निकु) ले २ सय १० मत प्राप्त गरे।
निर्वाचित सात पदाधिकारीमध्ये उपाध्यक्ष हरेराम यादव र सचिव निरज मुक्ती उमेश प्यानलका हुन् भने बाँकी पाँच पदमा केदार प्यानलका उम्मेदवार विजयी भएका छन्।
१२ प्रतिशत बढी मत मत बदर
कुल ५ सय ४ मतदातामध्ये अध्यक्ष पदतर्फ ६४ मत बदर भएको छ । कुल मतको १२.७ प्रतिशत मत बदर भएको हो ।
सचिव पदमा ४३ मत बदर भए, जुन कुल मतको करिब ८.५ प्रतिशत हो। कोषाध्यक्ष पदमा पनि ५९ मत बदर भएका छन्, जुन साढे ११ प्रतिशतभन्दा बढी हो।बदर भएका अधिकांश मत उम्मेदवारको समानेको कोठामा टिक चिन्ह लगाउनुपर्नेमा उम्मेद्वारकै नाममा लगाइएको थियो।
खुला तथा समावेशी सदस्य पदतर्फको मतगणना भने अझै जारी रहेको छ।















