क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका-६कोचाबाखारीमा बिहिबार राति १० बजे आएको १०/१२ जना भारतीयको समुहले आतंक मच्चाएको बिषय अहिले चर्चामा छ। भारतको बिहार राज्यको कोरियापट्टीमा भएको हत्या घटनाका अपराधीलाई खोज्दै आएका उनीहरूले कोचाबखारीको सदा टोल र छिन्नमस्ता-३धोबयाहीमा धरपकड गरेका थिए।
रातको समयमा दुई भारतीय स्कापरियोमा आएका उनीहरूले कोरियापट्टीबाट फरार एक हत्या अभियुक्त यहाँ आफन्त कहाँ लुकेको भन्दै खोजिरहेका थिए।
सिभिल ड्रेसमा रहेको उनीहरूले आफुलाई भारतीय सुरक्षाकर्मी बताउँदै अचानक घरमा पसेपछि स्थानीय त्रसित बनेका थिए। स्थानीय बालकुमार सदाका अनुसार उनीहरूले आफ्नो घरमा आएर जबरजस्ती घरहरु खोलेर सर्च गरिरहेका थिए।
कोचाबखारीको चौकमा स्कारपियो राखेर उनीहरू बस्तीको घरमा छिरेका थिए। चौकमा बसेका शंकर सदाका उनलाई समेत अचानक आएका उनीहरूले केही नभनिकन जबरजस्ती गाडीमा लग्न खोजेको थिए। तर शंकरले प्रतिकार गरेर हल्ला गरेपछि उनलाई छाडिएको थियो। प्रतिकार गर्दा उनीहरुसँग हतियार हेरेको उनले बताए।
‘मैले हल्ला गरेपछि मान्छेहरू जम्मा भयो, उनीहरूसँग हतियार थियो मैले हेरेँ,’ शंकरले भने।
त्यो समुहसँग दुई जना नेपाली प्रहरी समेत रहेको सो वडाका पुर्व वडाध्यक्ष धिरेन्द्र प्रसाद साहले बताए। उनले एक जना सुरेश मेहता नामको नेपाल प्रहरी र एक जना अर्को प्रहरी रहेको उसको नाम थाहा नभएको बताए।
यस घटनाबारे सप्तरी प्रहरी प्रमुखलाई जानकारी गराएपछि उनले सुरक्षा दिने आश्वासन मात्र दिएको धिरेन्द्रले बताए।
उनीहरूसँग दुई नेपाल प्रहरीसमेत रहेको नाम किटैर स्थानीयले दावी गरिरहँदा भारतीय सुरक्षाकर्मी हतियार लिएर आएको बिषयलाई सप्तरी प्रहरी प्रमुख एसपी गौतम केसीले झुठो रहेको बताउँछन्। उनले कोही भारतीय प्रहरी नेपाल नआएको बताउँछन्।
छिन्नमस्ता-६ जस्तै वडा नं ३को वस्तीमा समेत उनीहरूले खानतलासी गरेका थिए।स्थानीयका अनुसार त्यहाँ समेत दुई युवालाई पक्राउ गरेर लगेर एक दिनपछि छाडेका थिए।
कोही अपराधी विदेशमा लुकेको भए त्यसलाई सम्बन्धीत देशसँग कानुन अनुसार समन्वय गरेर पक्राउ गर्ने व्यवस्था छ। तर यसरी अपराधीक शैलीमा भएको घटनाले त्यहाँका स्थानीयवासी त्रसित बनेको छन्।नेपाल बोर्डरमा सुरक्षाकर्मी हुँदाहुँदै भएको यस्तो घटनाले सुरक्षा व्यवस्थालाई समेत चुनौती दिएको छ।















