क्रान्ति केन्द्र सम्वाददाता
राजविराज–सिंचाइ, विद्युत् र मल अभावले मारमा परेका सप्तरीका किसानको समस्याबारे विभिन्न दल र संघसंस्थाहरूको संयुक्त टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ध्यानाकर्षण गराएको छ।
कोशी पम्प नहर प्रणालीमा देखिएको चरम समस्यापछि प्रजिअ दाहाल स्वयं प्राविधिक टोलीसहित आइतबार स्थल निरीक्षणमा गरेका छन्। निरीक्षणपछि उनले तीन प्रमुख निर्देशन दिएका छन्। बिग्रिएका तीनवटा पम्प तुरुन्त सञ्चालनमा ल्याउन, विद्युत् आपूर्तिका लागि उच्च भोल्टेज सुनिश्चित गर्न र नहरको हेड रेगुलेटर क्षेत्रको २४ घण्टा निगरानी गर्न भनेका छन्।
कोशी पम्प क्षेत्रअन्तर्गतका सबै उपभोक्ता समितिहरूको समन्वयमा साउन १२ गते बैठक राखी सिँचाइ वितरण सन्तुलित बनाउने निर्णय पनि गरिएको छ।
प्रजिअ दाहालले समस्या समाधानका लागि डीपीआर तयार गर्न निर्देशन दिँदै आवश्यक बजेट र नीति सुधारका लागि माथिल्लो निकायमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।















