क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पोस्टमार्टमको लागि राखिएको शव लिएर शुक्रबार दिउँसो आफन्तको झुण्ड फरार भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडिबाटै पोष्टमार्टम गर्न नमान्दै शव लिएर जाँदा प्रहरीले उनीहरुलाई रोक्न असफल भएका छन्।
बिष्णुपुर गाउँपालिका–१ थलहीकी ४५ वर्षीय मसुरन खातुन माइतीघर राजगढ गाउँपालिका -३ नर्घोमा धान रोपिरहँदा अचानक बेहोस भएर उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि प्रहरीले शवको पोष्टमार्टम गर्न गजेन्द्रनारायण अस्पताल राजविराजको पोष्टमार्टम गृहमा राखेको थियो। तर उनका आफन्तले पोष्टमार्टम गराउन नमान्दै बेलुका ५ बजेतिर आएको एक झुण्डले बलजफ्ती पोष्टमार्टम गृहलाई तोडफोड गर्दै शव लिएर फरार भएका छन् । अस्पतालमा झुण्ड आएर तोडफोड गर्न लागेपछि मेडिकल सुपरिटेन्डेन्ट प्रकाश प्रसाद साहले सप्तरी प्रहरी प्रमुख गौतम केसीलाई जानकारी गराएको मेसु प्रकाश प्रसाद साहले बताए।
मेसुले समयमै जानकारी गराएपनि प्रहरी उनीहरुलाई रोक्न सकेनन्। जिल्ला प्रहरी कार्यालयबाट केही संख्यमा परिचालित प्रहरीले झुण्डलाई रोक्न प्रयास गरेपनि उनीहरू रोक्न असफल भए। झुण्डले प्रहरीसँग घम्साघम्सी गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडिबाटै शव लिएर गएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले पोष्टमार्टम गर्न शव राखेको स्विकारे।तर शव लान प्रहरीले रोक्न नसकेपछि उनले पोष्टमार्टमको आवश्यकता नदेखिएकोले प्रहरीेले उनलाई नरोकेको डिएसपी जितेन्द्र कुमार बस्नेतले बताए।
पोष्टमार्टमको लागि राखिएको शव जबरजस्ती लिएर फरार भएपछि यसमा आशांकाको बिषय देखिएको छ। शवको पोष्टमार्टम नहुँदा यसको अनुसन्धान प्रभावित हुने देखिएपनि प्रहरीले यसमा तदारुकता देखाएको छैन्।















