विपिन यादव
राजविराज। सप्तरीमा यसपालि सिँचाइको लागि पानीको हाहाकार भइरहेकोबिच खानेपानीको समेत समस्या भइरहेको छ। जिल्लाको राजगढ गाउँपालिका– ३को पश्चिमी टोलका अधिकांश चपाकल सुकिसकेको छ। पछिल्लो एक महिनादेखि यहाँका अधिकांश चपाकल सुक्दा स्थानीयवासीलाई पानीको चरम आभाव खेप्नु परिरहेको छ। यहाँ पानीको मुख्य स्रोत चपाकल नै सुक्दा पानीको लागि स्थानीयलाई भौतारिनुपरेको छ।
गाइगोरुको लागि पोखरीबाट पानी ल्याएर जसोतसो खुवाउने गरेपनि आफुहरुलाई पानीको जटिल समस्या रहेको स्थानीय बताउँछन्।
गाउँका केही चपाकलहरूबाट मात्र पानी आउने गरेकोले स्थानीयवासी बिहान र बेलुका त्यही पुगेर घण्टौघण्टा कुरेर पानी भर्ने गरेका छन्। अत्याधिक गर्मीको बिच पानीको स्रोत सुकिँदा उनीहरूलाई झन अप्ठ्यारो बनाएको छ ।आफ्नो जिवनकालनै यस्तो पानीको समस्या पहिलोपटक देखिएको वृद्धवृद्धा बताउँछन्।
राजगढ गाउँपालिका लगायत सप्तरीेको बिष्णुपुर गाउँपालिका, राजविराज नगरपालिका, छिन्नमस्ता गाउँपालिकाको दक्षिणी क्षेत्रमा समेत कल सुक्ने समस्या देखिएको छ।















