क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। असार २५ अर्थात् विकासीय बजेट भुक्तानीको अन्तिम दिन सप्तरीको शम्भुनाथ नगरपालिकाको कर्मचारीलाई त्यहाँका जनप्रतिनिधिकै संलग्नतामा हातपात गरिएको भन्दै कर्मचारीहरू आन्दोलित बनेका छन्। उनीहरूले बिहिबार सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र दिँदै दोषीलाई कारवाहीको माग गरेका छन्।
बुधबार राति ८ बजे कामकाज गर्ने समयमा इन्जिनियर सुनिल कुमार यादव, सव इन्जिनियर बिनोद यादव, मनोज कुमार चौधरी,जिन्सी शाखा प्रमुख मो. तमन्ना, हलुका सवारी चालक हरि प्रसाद भगतसहितका कर्मचारीलाई कार्यवाहक नगरप्रमुख अनिता चौधरी र भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएर निलम्बित नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ताले आफ्नो मान्छे लगाएर कुटपिट गराएको ज्ञापनपत्रमा उल्लेख छ।
ज्ञापनपत्रमा उनीहरूले दुर्व्यवहार गर्ने कार्यवाहक नगरप्रमुखको सल्लाहकार अनिल भगत, निलम्बित नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता, मो. रहमत, निर्माण व्ययवसायी बिजय साह तथा रातो भेस्ट र रातो गम्छा लगाएका कुटपिट गर्ने दोषीहरुलाई कारबाहीको माग गरेका छन्।
उनीहरूले कार्यालयमा यसअघि पनि भगतले पटकपटक आएर धम्काउने गरेको, अख्तियारको गोप्य कागजहरू सार्वजनिक गर्ने लगायतका गतिविधि गर्ने गरेको बताएका छन्। असार २५ गते राति कार्यालयमा भुक्तानीको लागि कार्यालय प्रमुखको टेबुलमा पेश भएका सरकारी कागजातहरु समेत भगतले च्यातदा कार्यालय प्रमुखले कुनै प्रतिक्रिया नजनाएको बताएका छन्। कार्यलयमा कामकाजको सुरक्षित वातावरण नरहेको भन्दै उनीहरूले आजैदेखि कामकाज ठप्प गर्ने घोषणा गरेका छन्।















