क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएपछि देशभरिका सरकारी अस्पतालहरूको ओपीडी सेवा ठप्प छ। ओपीडी ठप्प भएपछि सेवाग्राहीलाई अस्पतालबाट निराश फर्किनुपरिरहेको छ। तर अस्पतालको ओपीडी बन्द हुँदा सप्तरीको राजविराजमा चिकित्सकहरूको क्लिनिक भरिभराउ बनेको छ।
चिकित्सक संघको आह्वानमा मंगलबार पनि मुलुकभरका सरकारी अस्पतालमा इमर्जेन्सीबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेका छन् ।यसै अन्तर्गत सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा पनि ओपीडी सेवा ठप्प रहेको छ । ओपीडी सेवा सुचारु नरहेकोले अस्पतालामा सेवाग्राही चाप एकदमै न्युन रहेको छ। ओपीडी ठप्प भएपछि अस्पताल पुगेका सेवाग्राहीलाई अस्पतालबाट निराश भएर फर्किनु परेको छ। ज्वरोको समस्या रहेको छोरालाई फ्लोअपमा मंगलबार अस्पताल ल्याएका सुरेश यादव निराश भएर फर्के ।
घाँटीमा समस्या हेराउन अस्पताल पुगेकी एक महिला ओपीडीमा डाक्टर नबस्ने बुझेपछि बिल काउन्टरमा निराश भएर बसिन्। उनीसँग रहेको कुरूवाले दुखेको सुनाए ।
अस्पतालाको ओपीडी सेवा ठप्प भएपनि डाक्टरहरुको क्लिनिक भरिभराउ बनेको छ। विरामीलाई डाक्टरको क्लिनिकमा पुग्नु पर्ने बाध्यता रहेकोले अस्पतालमा सेवा नपाएपछि उनीहरू चिकित्सकको क्लिनिकमा पुगेकी रहेको छ। चिकित्सकले पनि लन्च र ओपीडीपछिको समयमा लुकेर क्लिनिकमा बिरामी हेरिरहेका छन्।सुगर, प्रेसर लगायतका समस्या जचाउन अस्पताल पुगेका बालकिसुन साहले बाहिरको ल्याबमा जाँच गराउन दिएको र त्यो आएपछि डाक्टरको क्लिनिकमा जचाउने बताए।
उपभोक्ता अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिको फैसला गरेको थियो । अदालतले गत असारमा महिलाले उपचारमा लापर्बाही भएको भन्दै गरेको उजुरीमा ग्रान्डी सिटी अस्पताल र चिकित्सकलाई ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
चाबहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ र उपचारमा भएको लापरबाहीको मुद्दामा चिकित्सकलाई ६ लाख १० हजार रुपैयाँ तिराउन आदेश दिएको थियो । त्यस्तै उपचारमा लापर्बाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै हिमाल हस्पिटल र बिरामीको उपचारमा संलग्न चिकित्सकलाई दोषी ठहर गर्दै अस्पताल र चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो ।
अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सकले ३० प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने गरी फैसला भएको थियो । अदालतको फैसलाविरुद्ध संघले चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको छ ।















