क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडा अनुसन्धानमा तानिएका छन् । मधेश प्रदेश कार्यालयले तीन सदस्यीय समिति गठन गरि उनीमाथि अनुसन्धान सुरु गरेको छ। तर घुस दिएको स्विकारेका कुख्यात अपराधी बुधनका भाइ अखिलेशलाई प्रहरीले पक्राउ गरेको छैन्।
गाँजा मुद्दाका फरार आरोपीलाई पक्राउ नगर्ने सर्तमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत वरिष्ठ सई विश्वनाथ त्रिपाठीले रकम लिएको एक भिडियोमा देखिएको छ। समाजिक संजालमा आएको भिडियोमा फरार आरोपी जोगानन्द मण्डल ‘बुधन’ लाई पक्राउ नगर्ने सर्तमा उनका भाइ अखिलेश मण्डलसँग त्रिपाठीले ४ लाख रुपैयाँ लिएको घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको छ । त्रिपाठीलाई एसपी खतिवडाले खटाएको आरोप छ।
तर सोही भिडियोमा घुस दिएको स्विकारेका कुख्यात अपराधी बुधनको भाइ अखिलेशलाई प्रहरीले पक्राउ गरेको छैन्।
सप्तरी प्रहरीले बुधनलाई असार १ गते पक्राउ गरेपछि यो प्रकरण सार्वजनिक भएको हो।
अदालतले सजाए तोकिसकेको अपराधी बुधन विगत लामो समयदेखि फरार रहँदै आएका थिए। गत असार १ गते उनलाई जिल्लाको हनुमाननगर कंकालिनी–१ भारदहको बस स्टेण्डबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
२०७९ साल पुष १४ गते भारदहबाट प्रहरीले बरमाद गरेको ८ सय १० किलो गाँजामा उनको संलग्नता अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेपछि उनीमाथिको थप मुदाहरू सामने आएको छ।
उनीमाथि ज्यान मार्ने उद्योग, हातहतियार, लागुऔसहित थप सातवटा मुदा रहेको सप्तरी प्रहरीले जनाएको छ।
आर्थिक बर्ष २०७७/७८मा बुधनमाथि परेको लागुऔषध गाँजा मुदामा एक बर्ष ९ महिना २ दिन कैद तथा १५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।तर फैसलापछि उनी फरार रहँदै आएको थियो। ०७१/०७२मा पनि उनलाई लागुऔषध मुदामा कैद सजाय भएको थियो। त्यस्तै ०८०/०८१मा ब्राउन सुगर मुदामा पनि उनलाई १० हजार जरिवाना गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि ०६८/०६९ सालमै ज्यान मार्ने उद्योग र ०६७/०६८मा हातहतियार तथा औजार सम्बन्धी मुदा परेको थियो । तर त्यसमा हालसम्म अनुसन्धान पुरा भएको छैन्। यसपटक प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि हातहतियार, ज्यानमार्ने उद्योगको समेत मुदाको अनुसन्धान सुुरु गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले यस बिषयमा मधेश प्रदेश प्रहरीले अनुसन्धान थालेको र त्यसमा आवश्यकता अनुसार गर्ने बताए।















