क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको आगामि आर्थिक बर्षको लागि करिब ४४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
शुक्रबार आयोजित आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुती तथा १२औं गाउँ सभामा ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट पेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले बताए। कुल बजेटको चालुतर्फ ३२ करोड ८८ लाख १५ हजार र पूँजिगत तर्फ १० करोड ९६ लाख ४ हजार रुपैयाँ रहेको बताइएको छ ।
सो बजेटमा संघबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ १० करोड ६७ लाख र सशर्त अनुदानतर्फ १९ करोड १० लाख, संघीय राजस्व बाँडफाँडबाट ८ करोड ९० लाख ७९ हजार ३६८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकारबाट राजश्व बाँडफाँडतर्फ ४५ लाख प्राप्त हुने अनुुमान गरिएको छ भने वित्तीय समानिकरणतर्फ ८० लाख, सशर्त अनुदानतर्फ ८० लाख, विशेष अनुदान ३० लाख र समपुरक अनुदानतर्फ २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिनुभयो । कुल आन्तरिक आम्दानी २ करोड ६१ लाख ४० हजार रुपैयाँ अनुमान गरिएको छ ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण(जेसी अडिट) को सुरुवात, बालमैत्री तथा बाल श्रममुक्त पालिका घोषणाका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । ब्यवसायिक रुपमा पशुपालन ब्यवसाय गर्ने कृषकलाई सहकारी संस्थामार्फत ५० प्रतिशत निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने, कृषिलाई ब्यवसायिक तथा उत्पादनमुखी बनाउन गहुँ, धान र प्लाष्टिकको स्प्रेयर ५० प्रतिशत अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइने तथा कृषि विद्युतीकरणको लागि आवश्यक बजेट विनियोजन गरि कृषि विद्युतीकरणमा जोड दिइने नीति लिइएको छ ।
उच्च शिक्षा अध्ययन गर्न चाहने दलित, गरिब तथा जेहेन्दार बालबालिकाका लागि आवश्यक छात्रवृत्तिको ब्यवस्था गरिने, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि आवश्यक तालिम संचालन गरिने नीति लिइएको प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिए ।
पत्रकारिता जगतको संस्थागत विकासका साथै क्षमता विकासको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने, मैथिली साहित्य, भाषा, सँस्कृति क्षेत्रको संस्थागत तथा समुचित विकासको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने, पालिका भित्र रहेको सार्बजनिक संरचनाहरु (जस्तै पालिका भवन, स्वास्थ्य चौकी, बिद्यालय भवन, अन्य) लाई अपांगतामैत्री बनाइने, विपदको जोखिमबाट प्रभावित बर्गको रुपमा रहेको अपांगता भएका व्यक्तिहरुको लागि विपद पूर्वतयारी तथा प्रतिकार्यको लागि बिभिन्न कार्यक्रमहरु संचालनमा ल्याइने नीति लिइएको छ ।
बाढीबाट अत्यधिक प्रभावित वडाहरुमा पूर्वानुमानमा आधारित विपद जोखिम न्युनीकरण कार्यक्रम संचालन गरिने, बढ्दो गर्मीलाई ध्यानमा राखी विभिन्न विकास साझेदारहरुसग मिलेर आवश्यक कार्यक्रमहरु संचालन गरिने, कक्षा ८ सम्म सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा विपद् जोखिम न्युनीकरण शिक्षालाई लागू गर्न आवश्यक ब्यवस्था मिलाइने, जलवायु परिवर्तन तथा विपद् जोखिम न्युनीकरणका लागि युवा परिचालन अभियान संचालन गरिने तथा विशेष समावेशी तथा जलवायुमैत्री कार्यक्रमहरु संचालन गरिने नीति लिइएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।















