क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीमा एक सासुआमाले जबरजस्ती आफ्नो बुहारीको गर्भपतन गराएकी छन्।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–२ सकरदहीकी सनिसा खंगको सासुआमा चुलबुलदेवीले मंगलबार राति जबरजस्ती बच्चा खसाउने औषधी खुवाएर उनको गर्भपतन गराएकी हुन। सासुआमा र काकी सासु सीता खंगले जबरजस्ती अवेर राति आफुलाई औषधि खुवाएको सनीसाले बताईन्।
‘काकी सासु छातीमा चढेर हात च्यापीन, सासुले औषधि खुवायो, कुन औषधि थियो थाहा भएन, बच्चा खसाउनै खुवाएको थियो।,’ सनिसाले भनिन्।
औषधि खाएपछि जसोतसो त्यहाँबाट भागेकी सनिसा प्रहरीको सहयोगले बिहान ४ बजे गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो। अस्पाताल प्रशासनको अनुसार अत्यधिक पेट दर्दले छट्पटाइरहेको अवस्थामा अस्पताल पुगेकी सनिसाको बुधबार बिहान ८ बजे गर्भपतन भएको छ। उनको १७ हप्ताको गर्भ पतन भएको अस्पतालको मेसु प्रकाश प्रसाद साहले बताए। अहिले उनी राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा उपचाररत छिन्।
प्रहरीले उनको सासुआमा चुलबुल देवी र ससुरा परमेश्वर खंगलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए।















