आदरणीय वडा अध्यक्षज्यू,
शुभकामना सहित यो पत्र लेख्दैछु।
तपाई राजविराज–२ का जनप्रतिनिधिका रूपमा लगातार दोस्रो कार्यकाल सम्हालिरहनु भएको छ। आठ वर्षको यो लामो यात्रामा वडाको जनताले तपाईंमा निरन्तर भरोसा राखे, नेतृत्वको डोरामा पुनः पुनः बाँधिए। यो आफैंमा एक ऐतिहासिक उपलब्धि हो, जसका लागि म फेरिपनि हार्दिक बधाई ज्ञापन गर्दछु।
यद्यपि अध्यक्षज्यू, एउटा प्रश्नले मेरो मनलाई बारम्बार सताइरहेछ, के यो नेतृत्वको इतिहास जनताका पीडामाथि खडा भएको इतिहास हो त? यदि होइन भने, तपाईंले बनाएको यो इतिहास जनताका आँखा र अघिल्ला सरकारहरूको जस्तै वचनहरूमै सीमित नहोस् भन्ने कामना गर्छु।
१. मुख्य सडकको दुर्दशा र नामको अपमान
हाम्रो वडा नम्बर २ लाई बजार क्षेत्रसँग जोड्ने ऐतिहासिक सडक—नेता चोकदेखि गजेन्द्र नारायण सिंह अस्पताल पछाडि हुँदै तेतरी गाछी चोकसम्म—कुनै समय “श्रीमान मार्ग” भनेर चिनिन्थ्यो। स्व. यमुनानन्द मिश्रजस्ता श्रद्धेय व्यक्तिको नाममा नामाकरण भएको यो मार्ग आज ओझेलमा परिणत भएको छ। स्वर्गीय मिश्र राजविराजका प्रथम मेयर हुनुहुन्थ्यो । वडा अध्यक्ष ज्यू जनप्रतिनिधिको रुपमा आफ्नो इतिहास र बिरासतलाई याद राख्ने हो वा विर्सने हो त्यो तपाईहरुको स्वविवेकमा निर्भर पर्छ । तर, उक्त सडकको छेउमा बसोबास गर्ने आम नगरवासीको पिडालाई अवमूल्यन गर्नु नैतिक रुपमा पाप हो, आफ्नो कर्तव्य र दायित्व प्रतिको विचलन हो, यो विचलन हजुरको स्वर्णिम अतित निर्माणलाई सधै भरी कलंकित गरिरहने छन्, कृपया यस वारे सचेत हुनुस । त्यो मार्गका छेउमा बसोबास गर्ने जनताको दुःख हेर्दा लाग्छ, केवल पिच मिचिएको होइन, सम्झना र सम्मान पनि मिचिएको छ।
२. भलुवाही खोलाको पुल र जिम्मेवारी पन्छ्याउने प्रवृत्ति:
उक्त मार्ग अन्तर्गत छिन्नमस्ता अस्पताल नजिकको भलुवाही खोलामा रहेको सानो पुल करीब एक वर्षदेखि भासिएको छ। वर्षायाम सुरु हुँदैछ, तर पुलको पुनर्निर्माणबारे न त नगरपालिका गम्भीर छ, न वडा।
“त्यो वडा नम्बर ४ पर्छ” भनेर हात झिक्न सजिलो होला, तर लगातार दुई कार्यकाल नेतृत्व सम्हाल्ने जिम्मेवार नेतृत्वको मुखबाट यस्तो जवाफ शोभा दिंदैन। जनताले चुनावमा टुक्रा टुक्रा वडालाई होइन, समग्र वडाको जिम्मेवारी सुम्पेका हुन्छन्।
३. बत्ती छ तर उज्यालो छैन, बिजुलीको न्यून भोल्टेज समस्या :
अध्यक्षज्यू, वडाको अधिकांश बस्तीले बिजुली त पाएका छन्, तर उज्यालो छैन। वर्षौ देखि हामी गम्भीर बोल्टेज समस्याबाट पीडित छौं। पंखा चलेको महसुस हुँदैन, मोबाइल चार्ज गर्न सकिन्न, घरेलु कामकाजमा हैरानी बेहोर्नुपरेको छ।
विद्युत प्राधिकरणमा दर्जनौं निवेदन दर्ता भइसकेका छन्, तर समस्या उस्तै। यो समस्या प्रति न त प्राधिकरणको चासो देखिन्छ, न त तपाईंबाट कुनै पहल। हामी सरकारबाट गुनासो गर्छौं, तर अभिभावकबाट आशा गर्छौं, र वडा अध्यक्ष हाम्रो लागि त्यही अभिभावक हो। तर, अभिभावक नै चुप लागेपछि, सानो जनताको आवाज कहाँ पुग्ला?
४. सड़क, पानी र वस्तीको वेदना
पुरानो साईं कृष्णा मेडिकल कलेजको खण्डहर नजिक झण्डै १० घरहरूको बस्ती छ। म स्वयं त्यहीँ बसोबास गर्छु। छेउमै ठूलो मुस्लिम समुदाय पनि बसोबास गर्छ।
तर यहाँ न सडक छ, न बत्ती, न पानीको पुख्ता व्यवस्था।
हामीले बारम्बार तपाईं समक्ष अनुरोध गर्यौं, औपचारिक, अनौपचारिक, मौखिक, लिखित । तर, आश्वासन बाहेक केही हात लागेन।
पोलमा बलिरहेको बत्ती विग्रिएको दुई महिना बितिसक्यो, हामीले भन्यौं, बल्व त हामी किन्छौं, मान्छे मात्र पठाइदिनुस् । तर, त्यो सानो सहयोग समेत सम्भव हुन सकेन।
५. एम्बुलेन्स पुग्दैन, अस्पताल नजिकैको दुर्भाग्य :
हामी गजेन्द्र नारायण सिंह अस्पतालबाट मुश्किलले ५ मिनेट टाढा बस्छौं। तर असारदेखि कार्तिकसम्म एम्बुलेन्स हाम्रो घर पुग्न सक्दैन। यी अवस्था केवल हाम्रो दुर्भाग्य होइन, तपाईका लागि पनि आत्मग्लानीको विषय हुनुपर्छ।
६. खण्डहरभित्र लुकेको खतरा :
साईं कृष्णा मेडिकल कलेजको खण्डहर निजी सम्पत्ति हो होला। तर त्यहाँ के–कस्ता गतिविधिहरू भइरहेका छन्, त्यो तपाईं अनभिज्ञ हुनुहुन्न होला। हुनसक्छ यो निजी सम्पत्ति हो, तर यो सार्वजनिक जोखिमको केन्द्र बन्दै गएको छ। त्यसप्रति चासो देखाउनु पनि तपाईंको दायित्व भित्र पर्छ।
अन्त्यमा अध्यक्षज्यू,
हुन सक्छ, म या मेरा छरछिमेक तपाईका मतदाता नभएकै होलौं। तर तपाईं वडा अध्यक्ष निर्वाचित भएपछि, हामी सबै तपाईंका जिम्मेवारीमा पर्ने नागरिक हौं। नेतृत्व केवल चुनाव जित्ने होइन, जनताको पीडामा मलम लगाउने संकल्प हो। इतिहास केवल कार्यकालको गन्तीबाट होइन, कर्तव्य निर्वहन र दायित्वबोध बाट बन्छ।
जनताको माया तपाईंले पाउनुभएको छ, अब त्यो मायालाई न्याय दिने बेला आएको छ।
यो पत्र आलोचना होइन, सन्देश हो। यो आक्रोश होइन, आग्रह हो। यो आरोप होइन, आत्मसमीक्षाको निम्ति अपील हो। कृपया सुनिदिनुस न, यो चिच्याएको आवाज होइन, तपाईंले बचाउन सक्ने जनताको आग्रह हो ।
भवदीय,
जितेन्द्र झा/स्थानीय वडावासी
राजविराज–२














