क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको प्रमुख जिल्ला अधिकारी भोला दाहालसहितको टोलीले कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालय र नापी कार्यालयमा छडके अनुगमन गरेको छ। सेवाग्राहीबाट कार्यालयमा घुस लिने गरेको गुनासो कञ्चनरुप नगरपालिकाको नगरप्रमुखलाई आएपछि उनी र सिडिओसहितको टोलीले सोमबार दिउँसो कार्यालय अनुगमन गरेको हो। अनुगमनको क्रममा घुस लेनदेनको अवस्था नदेखिएपनि कर्मचारीहरू कार्यालय पोशाकमा नरहेको पाइएको थियो। दुवै कार्यालयका प्रमुख अनुगमनको क्रममा कार्यालयमा थिएन् ।त्यहाँका कर्मचारीले उनीहरू खाजा खान गएको बताएका थिए। मालपोत कार्यालयका प्रमुख कार्यालय बाहिर रहेपनि उनको कार्यकक्षमा पंखा र बल्ब बलिरहेको पाइएको थियो।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यालयको सेवाबारे जानकारी लिएका थिए।
अनुगमनबाट फर्किने बेला भेटेका ती कार्यालयका प्रमुखलाई प्रमुख जिल्ला अधिकारी दाहालले कमजोर देखिएका गतिविधि सुधार गर्न निर्देशन दिएका थिए।















