जितेन्द्र झा/तिलाठी
२२ मे १९४३ को रात, जब भारतीय स्वतन्त्रता आन्दोलनको आगो दह्रो हुँदै थियो, हनुमाननगरको जेलले एउटा ऐतिहासिक मोड लिएर सप्तरीका युवाहरू र भारतीय नेताहरूको साहसिक संघर्षलाई अमर बनायो। ८२ वर्षअघि भएको यो जेल ब्रेक काण्डले नेपाली–भारतीय सीमामा रहेको यस ठाउँलाई भारतीय स्वतन्त्रता संग्रामको एक अनिवार्य अंग बनायो।
आज ८२ वर्षपछि, हामी यो घटनालाई मात्र स्मरण गरेर हुँदैन । यसमा सहभागी क्रान्तिकारीहरूको बलिदान तथा त्यसले भारतीय स्वतन्त्रता आन्दोलनमा खेलेको भूमिका बारे चर्चा गर्नुपनि उतिक्कै आवश्यक छ।
सन् १९४२ मा महात्मा गान्धीले भारत छोडो आन्दोलन घोषणा गरेपछि ब्रिटिशहरूले आन्दोलनका अग्रज नेताहरूलाई कठोर कारबाहीमा राखे। क्रांतिकारीहरुलाई समातेर जता ततै जेल हाले । तीनै क्रान्तिकारीहरु मध्यै त्यतिवेलाका निकै चर्चित अनुहार जयप्रकाश नारायण, राममनोहर लोहिया लगायतलाई सप्तरीको हनुमान नगर स्थित जेलमा राखिएको थियो ।
नेपाल तत्कालीन समयमा राजनीतिक रूपमा संवेदनशील अवस्थामा थियो। तत्कालीन शासन सत्ता भारतको स्वतन्त्रता आन्दोलनप्रति औपचारिक रूपमा सहमत थिएन, ब्रिटिश (अंग्रेज)सँगको समझदारीले भारतका स्वतन्त्रता सेनानीहरूलाई नेपालमै थुनिएको थियो।
हनुमाननगर जेल ब्रेक घटनामा सहभागिता सप्तरीका युवाहरुको थियो, सिमावर्ती युवाहरुको थियो । हनुमान नगर, तिलाठी, कोईलाडी, सकरपुरा, रम्पुरा मल्हनिया, लालापट्टी … लगायत सिमावर्ती गाउहरुको तर, आज भारत आफ्नो स्वतंत्रताको ‘अमृत महोत्सव’ मनाई राख्दा तीनै आजाद भारत वर्ष वाट हाम्रा सिमावर्ती नेपाली गाउँ क्षेत्रहरुले के पाए त ? कतै सिमा मिचिएका छन, कतै भारतीय बांधका कारण डुबानको पिडा छ, कतै भारतीय सिमा सुरक्षाकर्मीहरुवाट प्रताड़ना झेल्नु परिरहेको छ । के यस्तै अपेक्षा सहित सप्तरीया युवाहरुले भारतीय स्वतंत्रता संग्रामलाई सघाउन जेल ब्रेक गरेका थिए र ?
हनुमाननगर जेल काण्ड नेपाल र भारत दुवै देशका लागि एक महत्त्वपूर्ण ऐतिहासिक घटना हो। यो घटना भारतीय स्वतन्त्रता संग्राम र नेपालको राणा शासन विरोधी आन्दोलन दुवैसँग जोडिएको छ।
यो घटना दोस्रो विश्व युद्ध (सन् १९३९-१९४५) चलिरहेको बेला भएको थियो। त्यतिवेला बेलायत भारतमा आफ्नो उपनिवेश कायम राख्न प्रयासरत थियो। नेपालमा भने जहानियाँ राणा शासन थियो। राणा शासकहरू बेलायती सरकारका पक्षमा थिए र उनीहरू भारतीय स्वतन्त्रता सेनानीहरूलाई पक्राउ गर्न बेलायती सरकारलाई सहयोग गरिरहेका थिए।
भारतीय नेताहरूलाई जेलबाट मुक्त गराउनका लागि नेपाल र भारतका क्रान्तिकारीहरूले एक योजना बनाए। यस योजनामा नेपाली नेता रामेश्वरप्रसाद सिंह, जयमंगलप्रसाद सिंह, चतुरानन्द सिंह र भारतीय नेता सूरज नारायण सिंहको महत्वपूर्ण भूमिका थियो।
स्वर्गीय मदन भण्डारीले यस सन्दर्भमा लेखेका छन्:
“सप्तरीका ती युवा न केवल भारतीय नेताहरूलाई जेलबाट मुक्त गर्न सफल भए, तर त्यसले नेपालको क्रान्तिकारी चेतनालाई पनि थप बलियो बनायो।”
युवाहरूले जेलको सुरक्षा कमजोर पार्ने, सूचना आदानप्रदान गर्ने, र सफल जेल ब्रेकको लागि आवश्यक स्रोतहरू जुटाउने काम गरे।
२२ मई १९४३ को रात, सप्तरीका युवाहरूले राम्रोसँग तयारी गरी हनुमाननगर जेलमा हमला गरे। जेलभित्रका कैदीहरू पनि सहभागी थिए। प्रमुख नेताहरू जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, शैलेन्द्र नाथ घोष लगायतलाई सफलतापूर्वक जेलबाट निकाली भारततर्फ पठाइयो।
जयप्रकाश नारायणले जेल ब्रेकपछि आफ्नो आत्मकथामा लेखेका छन्, “सप्तरीका युवाहरूको सहयोग बिना यो सम्भव थिएन। उनीहरूको साहस र बुद्धिमत्ताले हाम्रो स्वतन्त्रताको यात्रामा नयाँ शक्ति थप्यो।”
यो घटनाले भारतीय स्वतन्त्रता आन्दोलनमा ठूलो प्रेरणा दियो र ब्रिटिश शासनलाई चुनौती दियो।
हनुमाननगर जेल ब्रेक काण्डमा सप्तरीका सीमावर्ती गाउँहरू—तिलाठी, कोईलाडी, सकरपुरा, रम्पुरा मल्हनिया, लालापट्टी—का युवाहरूले निर्णायक भूमिका खेले। उनीहरूले जेलको सुरक्षा कमजोरीको फाइदा उठाउँदै भारतका नेताहरूलाई मुक्त गराए। स्थानीय इतिहासकारहरूका अनुसार, यी गाउँहरूका युवाहरूले योजना बनाउने, स्रोत जुटाउने, र कार्यान्वयन गर्ने कार्यमा अग्रणी भूमिका खेले। यो घटना नेपाली भूमिबाट भारतीय स्वतन्त्रता आन्दोलनमा गरिएको महत्वपूर्ण योगदानको उदाहरण हो।
हनुमाननगर जेल ब्रेकले नेपाली जनतामा पनि राजनीतिक चेतना बढायो। यसले देखायो कि सीमाना भनेको मात्र भौतिक बिभाजन हो, तर स्वतन्त्रता चाहना सीमाना भन्दा माथि हुन्छ। नेपालमा राजनीतिक आन्दोलन अझ प्रभावशाली हुँदै गयो। धेरै युवा क्रान्तिकारीहरूसँग स्वतन्त्रता र समाजवादको भावना बलियो भयो।
सीमाना नाघेको प्रेम र बलिदान :
हनुमाननगर जेल ब्रेक काण्ड केवल राजनीतिक घटना मात्र होइन, एक गहिरो मानवीय कथा पनि हो। सप्तरीका युवाहरूले जीवन र परिवारको जोखिम उठाएर भारतका स्वतन्त्रता सेनानीहरूलाई बचाए। यो त्याग र साहसले देखायो कि स्वतन्त्रता र न्यायको चाहना राष्ट्र, भाषा वा भौगोलिक सीमामा सीमित हुँदैन।
८२ वर्षपछि हामीले हनुमाननगर जेल ब्रेक काण्डलाई स्मरण मात्र नभई यसका नायकहरूलाई सम्मान गर्नु पर्दछ। यो इतिहास नेपाली–भारतीय स्वतन्त्रता आन्दोलनको साझा धरोहर हो। आजको युवा पुस्ताले यसबाट सिक्नुपर्छ कि संघर्ष र बलिदानले मात्र स्वतन्त्रता सम्भव छ।
तर, दुर्भाग्य १९४७ मा भारत स्वतन्त्र भएपछि पनि नेपालमा हनुमाननगर जेल ब्रेक काण्डमा सहभागी युवाहरूलाई उचित मान्यता र सम्मान दिइएन् । तत्कालीन राजतन्त्रको कडा नियन्त्रण र राजनीतिक वातावरणले क्रान्तिकारीहरूको योगदानलाई दबायो। धेरै जना थुनामा परे, कतिपय राजनीतिक गतिविधिबाट बाहिर भए। तर, स्थानीय तहमा भने उनीहरूको बलिदानलाई सम्झेर इतिहास लेखिँदै आएको छ।
आज, ८२ वर्षपछि पनी यी नेपाली गाउँहरू भारतको “आजादी का अमृत महोत्सव”को छायाँमा पनि उपेक्षित छन्। सीमाना मिचिएको छ, डुबानको पीडा छ, र भारतीय सुरक्षाकर्मीहरूको प्रताडना झेल्नुपरेको छ। के यस्तै अपेक्षा सहित सप्तरीका युवाहरूले भारतीय स्वतन्त्रता संग्राममा योगदान दिएका थिए?














