क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । कमसल किसिमको स्ट्रिट लाइट खरिद तथा जडान गरी अनियमितता गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित नौविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
निमित प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव, इन्जिनियरहरु कुलानन्द विराजी र रमाकान्त चौधरी, सव-इन्जिनियर संजयकुमार यादव, योजना अधिकृत विनोदकुमार ठाकुर, लेखापाल अनिता परिवार, योजना शाखामा कार्यरत सहायक पाँचौं निकिता चौधरी, जीएस निर्माण सेवा
प्रोप्राइटर विजयकुमार यादव उपर आरोप-पत्र दायर भएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
आर्थिक वर्ष २०७८/०७९ मा बजेट विनियोजन भई सो जडान कार्यका लागि ठेक्का दिएकामा कमसल किसिमको स्टेट लाइट खरिद तथा जडान गरी फर्जी बिल भर्पाई बनाई नगरपालिकामा पेस गरी विनियोजित पूरै रकम असार मसान्तमा नै भुक्तानी लिईदिई हिनामिना गरेको प्रवक्ता पौडेलले जानकारी दिए।
लागत अनुमान तयार गर्दा पुष्ट्याइको आधार तथा बिना नम्स अस्वाभाविक मूल्य राखी लागत अनुमान तयार गरेको र बजार मूल्यभन्दा बढी मूल्य राखी भुक्तानी भएको समेत गरी जम्मा २५ लाख ४ हजार ५ सय ३० रुपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारको दाबी छ।















