क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। महादेवा गाउँपालिका वडा नं. १ पकरी टोल र वडा नं. २ काजौली टोलमा महादेवा गाउँपालिकाको समन्वय तथा असमान नेपाल र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा सञ्चालित जलवायु उत्थानशील समुदाय (CRC) कार्यक्रम अन्तर्गत तातो हावाको लहर सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ।
वडा नं. १ मा आयोजित कार्यक्रमका अवसरमा वडा सदस्य र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो। त्यस्तै, वडा नं. २ काजौली टोलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष जागेश्वर ईसरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष ईसरले आफ्नो मन्तव्य राख्दै जलवायु परिवर्तनका प्रभावहरूसँग जुध्न समुदायलाई सचेत बनाउन यस प्रकारका जनचेतनामूलक गतिविधिहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रमको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण देखापर्ने तातो हावाको लहरबाट उत्पन्न हुने समस्याहरूको जानकारी दिनु र समुदायलाई सुरक्षाका उपायहरू अवलम्बन गर्न प्रेरित गर्नु रहेको वडा अध्यक्ष ईसरले बताए। स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको त्यहाँका महन्थबाबा सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश यादवले जनाएको छ।















