विपिन यादव
राजविराज। सोलार बत्ती जडान कार्यमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीका बिष्णुपुर गाउँपालिका अध्यक्षउपर सर्वोच्च अदालतमा मुदा दायर गरेको छ।
विशेष अदालतले दिएको सफाइको फैसलामा चित्त नबुझ्दा आयोगले बिहिबार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो।
अध्यक्ष यादवसहित लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर विरेन्द्र कुमार यादवउपर समेत मुदा दायर गरिएको छ।
विष्णुपुर गाउँपालिका -६मा सोलार बत्ती जडान कार्यमा भुक्तानी दिन घुस लिएको पुष्टि भएको भन्दै आयोगले मुदा दायर गरेको छ।
यसअघि आयोगले विशेष अदालत काठमाडौंमा दायर गरिएको मुदामा विशेषले २०८० चैत २३ गते फैसला दिँदै उनीहरूलाई सफाइ दिएको थियो। तर फैसलामा चित्त नबुझ्दा आयोग सर्वोच्च गएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।
आयोगले उनीहरूमाथि ५ लाख रूपैयाँ बिगो र सोही अनुसार कैद सजाय माग गरेको छ।















