विपिन यादव
राजविराज। निर्माण थालिएको साढे सात वर्षपछि सप्तरीको सदरमुकाम राजविराजमा निर्मित बसपार्क नगरपालिकालाई हस्तान्तरण गरिएको छ। सघन सहरी तथा भवन निर्माण आयोजनाले मंगलबार राजविराज नगरपालिकालाई एक कार्यक्रम गरि बसपार्क हस्तानतरण गरेको हो।
राजविराज नगरपालिका–२मा निर्मित उक्त बसपार्क मुल आयकर बाहेक १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रूपैयाँमा सिनर्जी बिल्डर्स प्रालि कुलेश्वरमा काठमाडौंले निर्माण गरेको छ।
बसपार्क निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजसँग ठेकेदार कम्पनीको २०७४ पुस १९ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०७७ पुस १८ गतभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो । तर कार्यालयका अनुसार त्यसपछि ६ पटक म्याद थप हुँदा मात्र ठेकेदार कम्पनीले बसपार्क निर्माण सम्पन्न गरेको छ। सुरुमा तीन सालमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको उक्त बसपार्क साढे सात सालमा हस्तान्तरण गरिएको छ।
उक्त बसपार्कको चारपटक शिलान्यास भएर मात्र पनि बसपार्कको निर्माण हुन सकेको छ।
०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले पहिलोपटक बसपार्कको शिलान्यास गरेका थिए । त्यसपछि ०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन वलीले बसपार्कको शिलान्यास गरे । ०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र ०७४ मा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले संयुक्त रूपमा बसपार्कको शिलान्यास गरेका थिए ।















