क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। अवैध वित्तीय कारोबारमा संलग्न सप्तरीका पाँच जनाससहित २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको छ। ११ जिल्लाका २१ जनालाई प्रहरीको सीआईबीले पक्राउ गरेको छ । बैशाख ७ गतेदेखि १३ गतेसम्म देशको बिभिन्न ठाउँमा परिचालित सिआईबीको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरूले सत्र अर्ब छयासी करोड सत्तरी लाख उनान्चालिस हजार एक सय रुपैयाँ बराबरको अवैध कारोबार गरेको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखएको छ।
पक्राउ पर्नेमा सप्तरीका ३२ वर्षीय तारालाल यादव, २२ वर्षीय सम्भु मेहता, ३१ वर्षीय सुशीला कुमारी, ३२ वर्षीय ममताकुमारी साह, ३५ वर्षीय रामविलास साह, मोरङका ५९ वर्षीय वीरेन्द्रप्रसाद साह, ३१ वर्षीय दिपेन्द्रप्रसाद साह र महोत्तरीका २४ वर्षीय श्रवणकुमार साह रहेका छन् ।
सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोजकुमार महतो, ४५ वर्षीय अलितादेवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरुणकुमार साह, ४४ वर्षीय सञ्जिव कुमार महतो, पर्साका २६ वर्षीय प्रदीपकुमार साह र ३२ वर्षीय विकर्णजंग राणा रहेका छन् । शाहीका अनुसार चितवनका ६४ वर्षीय गोविन्दप्रसाद आचार्य, विरगन्जका ३८ वर्षीय सलमा खातुन, नवलपरासीका ३४ वर्षीय गणपति पाण्डे, ४३ वर्षीय भीमकुमारी गुरुङ र २२ वर्षीय राजकमल लोनिया रहेका छन् ।
‘उनीहरु विभिन्न कम्पनी र एजेन्टमार्फत अवैधरूपमा हुण्डी कारोबार गरेका थिए,’ प्रहरी स्रोतले भने,‘भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली लगायतमा संलग्न व्यक्ति तथा समूहले अवैध कारोबारबापत प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेट सजिलो पे र पेवेल नेपाल प्रालिमार्फत बैंक खाताहरुमा जम्मा गर्थे ।’
उनीहरुले भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा दिने र रेमिन्टेन्सबापतको रकम हिसाब मिलान गरेका थिए । यसअघि पक्राउ परेकाहरुको आधारमा समेत उनीहरुको अनुसन्धान प्रहरीले गरिरहेको थियो । उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरमा अनुसन्धान हुँदैछ ।















