क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीमा एसईई परिक्षमा सुनियोजित ढङ्गले चोरी गराउने २६ जना कर्मचारीलाई कारबाही गरिएको छ।
जिल्ला परिक्षा समन्वय समिति सप्तरीले बिहिबार पत्रकार सम्मेलन गर्दै दुई केन्द्रका २६ जना कर्मचारीलाई कारबाही गरिएको जनाएको छ।
जिल्लाको बिष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरका एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष र ६ जना निरिक्षकलाई कारबाही गरिएको परिक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भोला दाहालले पत्रकार सम्मेलनमा बताए।
एउटै विद्यालयका विद्यार्थीलाई एकै कक्षामा राखेर सुनियोजित ढङ्गले चोरी गराउने गरेकोले उनीहरूलाई कारबाही गरिएको बताए।
‘कोठा नं १,७ र ८मा एकै विद्यालयका सबै विद्यार्थीहरू राखिएको थियो, एक छेउमा विद्यालय पोशाक लगाएको र अर्को छेउमा बाहिरि पोशाक लगाएको थियो,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने।
त्यस्तै जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित महावीर माध्यमिक विद्यालयका १८ जना कर्मचारीलाई कारबाही गरिएको छ। जिल्ला परिक्षा समन्वय समितिका पदाधिकारीहरु अनुगमनमा जाँदा कक्षा कोठामा प्रश्नको जवाफसहितको चिट भेटिएपछि त्यहाँका एक केन्द्राध्यक्ष, दुई साहायक केन्द्राध्यक्ष र १५ जना निरिक्षकलाई कारबाही गरिएको छ।’कोठा नं १,२,३,४,५,र ७मा दशै प्रश्नको जवाफ भएको करिब २५ वटा चिट भेटायो,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने।
सप्तरीमा रहेको ३७ वटा केन्द्रमध्ये २५ वटाको बिहिबार अनुगमन गरिएको छ। प्रजिअ दाहालका अनुसार ६ वटा टोलीले प्रथम दिन अनुमगन गरेको छ। उनले भोलिदेखि १० वटा अनुगमन टोली बनाएर सबै केन्द्रको अनुगमन गर्ने बताए।