क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीमा गाडीको नम्बर प्लेट बदलेर तस्करीमा गाडी प्रयोग गर्ने गरेको खुलेको छ। सोमबार सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको टोलीले राजविराज नगरपालिका-९मलेठस्थित गोदाममा छापामारी गर्दा भारतीय नम्बर लागेको स्कर्पियो र दुई नेपाली नम्बर प्लेट फेला परेको हो।
गोदाममा एक डब्लुबी ७ एएम १५५८ नम्बरको कार र बीआर ० जेबी ८६४७ नम्बरको स्कर्पियो फेला परेको हो।साथै स्कर्पियोमा दुई नेपाली नम्बर प्लेट समेत भेटेको छ। बा २१ च ८६४७ र बा १३ च ७२८८ नम्बरको प्लेट बदलेर तस्करीमा प्रयोग गर्ने गरिएको अनुमान गरिएको छ।उक्त स्कर्पियोको सिट हटाइएको भेटिएको छ। सिट हटाएर त्यसमा गाँजा तस्करी गर्ने गरेको प्रहरी स्रोतको भनाई छ। यसअघि पनि सिट हटाएर गाँजा लाँदै गरेको स्कर्पियो सप्तरी प्रहरीले पक्राउ गरेको थियो। छापामारीमा गोदाममा भारि मात्रामा गाँजा, कपडा, सुर्ती, धान, स्यानेटरी प्याड र स्याउ फेला परेको छ।















