क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराज नगरपालिकाभित्र स्थापनाकालदेखि बसाेवास गरिरहेका बिटाैरी-ब्लक जग्गा पीडितले लालपुर्जा माग्दै बिहिबार राजविराजमा प्रदर्शन गरेकाे छ ।
राजविराज नगरबासी पीडित संघर्ष समितिकाे नेतृत्वमा बिटाैरी-ब्लक जग्गा पीडितले लालपुर्जा र नगरका विभिन्न समस्याहरु समाधानकाे माग गर्दै प्रदर्शन गरेकाे हाे ।
स्थानीय शिव मन्दिर प्रांगणबाट निस्किएको जुलुस राजविराज नगरकाे विभिन्न भागमा परिक्रमा गर्दै आन्दोलन चाैकमा पुगेर विरोध सभामा परिणत भएकाे थियाे ।
राजविराज नगरपालिका(सप्तरी सदरमुकाम) स्थापना हुनु अघि हनुमानगर जिल्ला सदरमुकाम थियो ।
त्यतिबेला लगातार काेसी कटान हुँदा सदरमुकाम हनुमाननगर सारेर २०१६ सालमा राजविराज स्थापना गर्दा रु. ५०, १०० र १५० काे दरले किताकाट गरि स्थानीयलाई माल अड्डाले जग्गा उपलब्ध गराईएकाे थियाे । साेही जग्गालाई बिटाैरी जग्गा भनिएकाे हाे ।
६० विघा बिटाैरी र १० विघा बल्क गरि मुलुकमै पहिलोपटक टाउन प्लानिंग गरि स्थापना गरिएकाे राजविराज नगरका बासिन्दालाई अहिलेसम्म लालपुर्जा उपलब्ध नगराउँदा समस्या भईरहेकाे पीडित नगरबासीकाे भनाई छ ।















