क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। मधेश कृषि विश्वविद्यालयको समस्या समाधान गर्न सप्तरीका विद्यार्थी संगठनहरुले संयुक्त रूपमा माग गरेको छ।
शनिबार विज्ञप्ती जारी गर्दै उनीहरुले विश्वविद्यालयका कुलपति मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह तथा सह कुलपति शिक्षा मन्त्री रानी शर्मा तिवारीसँग मधेश कृषि विश्वविद्यालयको समस्या समाधान गर्न माग गरेका छन्।
समाजबादी विद्यार्थी युनियन, नेपाल बिद्यार्थी संघ, अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल क्रान्तिकारी र मविव स्ववियुले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै मधेश कृषि विश्वविद्यालय सिनेटको बैठक मधेश प्रदेश सरकारले सम्पन्न नगरेको कारण विश्वविद्यालय समस्याग्रस्त रहेको ठहर गरेको छ।
सिनेटको बैठक सम्पन्न नभएकोले प्राध्यापक र कर्मचारीहरुले तलब नपाई विश्वविद्यालयमा तालाबन्दी गरेकोले पठनपाठन समेत अवरुद्ध भएको प्रति संगठनको ध्यानाकर्षण भएको जनाएको छ।
मधेश प्रदेश सरकारले समस्या सल्टयाउनुको सट्टा झन भाजो हालने काम गरिरहेको उनीहरूको भनाई छ।
समस्या समाधान नभए संयुक्त विद्यार्थी संघले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।