क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरी प्रहरीले शुक्रबार राति ७ सय ११ केजी गाँजा बरामद गरेको छ। यद्यपी गाँजा तस्करी गरिरहेको मान्छेहरू भने फरार भएका छन् ।
शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बोदेबर्साईन नगरपालिका-३बाट उक्त परिमाणको गाँजासहित एक स्कर्पियो बरामद गरेको जानकारी दिए।
स्कार्पियोबाट गाँजा अनलोड गरिरहेको अवस्थामा प्रहरी चौकी महुवाका इन्चार्ज प्रहरी सहायक निरीक्षक हेमन्त तामाङ्ग नेतृत्वको गस्ती टोलीले गाँजा नियन्त्रणमा लिएको उनले बताए। दुईवटा स्कर्पियोमा लोड ३० पोका गाँजा र एक स्कर्पियो प्रहरीले नियन्त्रणमा लिए। तर प्रहरी टोली हेर्न साथ अर्को सकार्पियोमा चढेर दुवै गाडीको चालक सहित मान्छे फरार भएको एसपी खतिवडाले बताए।
प्रहरीले पुर्व सुचनाको आधारमा नभइ गस्ती गर्ने क्रममा गाँजा फेला पारेकोले पुर्व तयारी नहुँदा मान्छे समात्न नसकिएको एसपी खतिवडाको भनाई छ।
‘पहिला जानकारी भएको भए थप जनशक्ति र तयारी सहित गइन्थ्यो तर गस्ती भएकोले समात्न सकेनौं,’ उनले भने, ‘समान जोगाउँदा मान्छे फरार भयो।’
गाँजा कहाँ बाट आएको जानकारी भएको छैन्।
यद्यपी पक्राउ परेको गाडी (प्र-०१-००२ च ५८३४) कोशी प्रदेशकै रहेकोले गाँजा पहाडी जिल्लाबाटै आएको आशंका छ।
प्रहरीले यसअघि गत पुस २७ मा बलानबिहुल गाउँपालिका–१ चनहीको कमलदाहाबाट परालले छोपिएको अवस्थामा ६ सय ७० किलो गाँजा नियन्त्रणमा लिएको थियो। त्यस्तै गत मंसिर ३ गते राति राजगढ गाउँपालिकाबाट बालुवा बोक्ने ट्रिपरमा लोड गरिएको अवस्थामा एक हजार ७१७ किलो गाँजा नियन्त्रणमा लिएको थियो। पछिल्लो समय पहाडी जिल्लाबाट लोड भइ आएको गाँजा सप्तरीको पश्चिमी नाकाबाट भारत तस्करी हुने गरेको छ। यद्यपी प्रहरीले यसको अनुसन्धान गर्न सकेको छैन् ।