सिरहा । सिरहाको व्यापारिक बजार गोलबजारमा पूर्वपश्चिम राजमार्ग छेउमै २०७६ सालमा एउटा निजी विद्यालय खुल्यो । निजी विद्यालय खुल्नु पछिल्लो समयमा निकै चाँसोको विषय भने होइन । किनकि, विद्यालय खुल्ने र बन्द हुने कुरा सामान्य जस्तो भइसकेको छ ।
तर, गोलबजारमा खुलेको त्यो विद्यालयले अहिलेसम्मको छोटो अवधिमै जति सफलता हासिल गर्यो, त्यो भने असामान्य छ । शैक्षिक वृत्तमा छाडिरहेको छापले यो विद्यालयलाई चर्चायोग्य बनाएको छ । त्यो विद्यालय हो – न्याचुरल एकेडेमी ।
यो विद्यालय खुल्दा कक्षा ६ सम्म मात्रै थियो । शिक्षक कर्मचारी १५ जना मात्र थिए । विद्यार्थी संख्या २ सय ५० हाराहारी थियो । सानो टिम, सानै विद्यार्थी संख्यासहित पठनपाठनको सुरुवात गरिए पनि सञ्चालकहरूमा आत्मविश्वास भने ठूलो थियो ।
सायद त्यसैले होला, अहिले यो विद्यालयले फड्को मारिरहेको छ । यो विद्यालयले क्रमशः गरी अहिले १० कक्षासम्म पठनपाठन गराउँदै आएको छ । विद्यालयको विद्यार्थी संख्या ८ सय १० पुगेको छ । विद्यालयसँग अहिले ७० जना शिक्षक कर्मचारीको दक्ष टिम छ ।
‘अहिलेको बजारमा विद्यालय खोल्नु चुनौती नै थियो,’ प्रिन्सिपल रामकुमार यादव भन्छन्, ‘तर, हामीलाई यसलाई अवसरका रूपमा बुझेर अगाडी बढ्यौं, त्यो के भने गुणस्तरीय शिक्षा, हाम्रो आजसम्मको सफलताको कारण त्यही हो ।’
यो विद्यालयमा अहिले जिल्लाका विभिन्न स्थानका टाढाटाढाका विद्यार्थी आउँछन् । विद्यालयसँग अहिले विद्यार्थी ल्याउनका बस नै ५ वटा पुगेको छ । यो विद्यालयले मन्टेसरीको छुटै व्यवस्थित कक्षा सञ्चालन गर्दै आएको छ ।
विद्यालय खासमा चर्चायोग्य बन्नु र अभिभावकको रोजाइमा पर्नुको कारण यहाँको गुणस्तरीय शिक्षा हो । सीटीइभीटी मधेश प्रदेशको प्रवेश परीक्षामा प्रदेशमै प्रथम भएका विद्यार्थी यसै विद्यालयका उत्पादन थिए । उनी यस विद्यालयबाट एसईईको पहिलो ब्याचका विद्यार्थी हुन् ।
विद्यालयले सुरुदेखि नै काठमाडौंका ख्यातिप्राप्त शैक्षिक संस्था ब्लूबर्ड एजुकेसनल नेटवर्क तथा ब्लूबर्ड स्कुल एण्ड कलेजसँग शिक्षण सिकाइ पद्धतिका विषयमा सहकार्य गर्दै आएको छ । यसले विद्यालयको सफलतामा अतुलनीय योगदान पुर्याएको शिक्षक प्रशान्त यादव बताउँछन् ।
विद्यालयले शनिबार छैठौं वार्षिकोत्सब मनायो । यस अवसरमा विद्यालयले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकलगायतलाई सम्मान पनि गर्यो । वार्षिकोत्सब कार्यकममा विद्यार्थी, अभिभावक, अतिथि र दर्शक गरी झण्डै १५ सय हाराहारीमा सहभागी थिए ।