क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। अदालतको अवहेलना गर्दै राजविराज नगरपालिकाले डोजर चलाएको छ।
उच्च अदालत जनकपुर राजविराज इजलासले जारी गरेको आदेश विपरीत बुधबार राजविराज नगरपालिकाले डोजर चलाउँदै कली मुज्जमा खाँको घरमा डोजर चलाएको छ।
२०८१ माघ १३ गते बामदेव ज्ञावलीको इजलासले खाँको उत्प्रेषण रिटमा राजविराज नगरपालिकालाई आदेश जारी गर्दै माघ २१ गते छलफलको लागि दुवै पक्षलाई बोलाएको छ।
‘छलफल नभए सम्मका लागि निवेदकको नाउँमा दर्ता रहेको निवेदनमा उल्लेखित कि.नं. ६२६, ६२७ र ६२९ का जग्गामा अवस्थित घर कम्पाउण्ड यथास्थितिमा रहन दिनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम विपक्षीहरुको नाउँमा अल्पकालिन अन्तरिम आदेश गरी दिएको छ।’ अदालतको जारी आदेशमा उल्लेख छ।
यद्यपी नगरपालिकाले आदेशको अवहेलना गर्दै खाँको घरमा डोजर लगाएको खाँले बताए । उनले दादागिरी शैलीमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले घरमा डोजर चलाएको बताए।
खाँले उक्त आदेशको फोटो ठुलो फ्लेक्स प्रिन्ट गरि आफ्नो पर्खालमा लगाएको बताए। उनले परविनले उक्त फ्लेक्सलाई आफैले च्यातेको समेत बताए।
यता कार्यवाहक नगरप्रमुख परविनले अदालतको आदेश सम्बन्धमा आफुलाई जानकारी नरहेको बताउँछिन्।
‘उहाँहरूले पनि हामीलाई आदेश पत्र देखाउनु भएन्,’ उनले भनिन् ‘घरमा डोजर चलाइसकेपछि मात्र पत्र देखाएपछि डोजर रोक्यौं।’