क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।राजविराजमा निजी क्लिनिक संचालन गरेका अधिकांश चिकित्सकहरूले करछली गर्ने गरेका छन्।चिकित्सकहरूले बिरामीसँग हेर्ने वापत शुल्क लिएपनि त्यसको बिल उपलब्ध नगराउने गरेका छन्।एउटा बिरामीसँग प्रायः ५/६ सयको दरले प्रत्येक चिकित्सकले बिरामी शुल्क उठाएपनि त्यसको बिल भने कसैलाई पनि उपलब्ध नगराउने गरेको देखिएको हो।अभ्यास नै यसरी भएकोले कोही पनि बिरामीले बिल खोज्ने गरेको चलन नदेखिएको स्थानीय राजकुमार यादव बताउँछन्।’हो करछली त गर्छन, म प्राय निजी क्लिनिकमा जाने गर्छु, एक दिनमा २० जना बिरामी पनि हेर्ने डाक्टहरू छन् यहाँ,’ उनले भने, ‘यस हिसाबले त दिनको १० हजार आम्दनी गर्छन सालको त ३६ लाख भयो तर त्यसको लेखाजोखा कहाँ हुन्छ।’
निजि क्लिनिक संचालन गरेका डाक्टहरू मध्ये केहीले आफ्नै ल्याब र मेडिकल पसल पनि खोलेका छन् ।बिरामी हेरेपछि सोही ल्याबमा जचाउँन बिरामीलाई बाध्य गर्ने गरेको स्थानीयको भनाई छ। सरकारी अस्पतालमा कार्यररत चिकित्सकहरूले अस्पतालको ल्याबको जाँच त्यती राम्रो नरहेको भन्दै आफ्नो ल्याबमा गराउन बिरामीलाई भन्ने गरेको गुनासो व्यापत छ।’अस्पतालमा ७ सय लाग्ने ल्याब जाँच बाहिर १५ सयमा हुन्छ,’ डाक्टर कहाँ पुगेका एक जना बिरामीले भने, ‘डाक्टहरूले ल्याबबाट कमीसन लिन्छन्, औषधिमा कमीसन भएकोले कम्पनीकै नाम तोकेर औषधि लिन दबाब दिन्छन।’
बिरामीले भगवान मान्ने डाक्टहरूले यसरी ठगी गर्नु मानवतामाथी नै प्रश्नरहेको समाजसेवीहरुको भनाई छ।डाक्टहरूले पाउने कमीसनकै कारण औषधि तथा ल्याब जाँच महंगोमा गराउनुपर्ने अवस्था आएको स्थानीय विपिन यादवको भनाई छ।’आर्थिक रूपले समपन्नले खैर धान्न सक्छन तर बिपन्नको लागि त गुणस्तरीय उपचार नै पाउने भइएन,’ उनले भने, ‘त्यही डाक्टहरू सरकारीमा पनि कार्यरत हुन्छन् तर त्यहाँ ड्युटी अनुसारको समय दिँदैन।’ उनले नियामक निकायले यसमा ध्यानदिनु आवश्यक रहेको बताउँछन् ।
करदाता सेवा कार्यालय राजविराजका प्रमुख लालदेव सर्राफले डाक्टहरूले फिस लिँदा बिल जारी गर्नुपर्ने बताउँछन्।उनले यसरी नगर्ने गरेको सुचना आए कारबाही गर्ने बताए।