क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। मधेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले खुला सिमानाले तस्करी र लागुऔषध ओसार पोसार बढेको बताएका छन्।
सप्तरीको सप्तकोशी नगरपालिकामा आइतबार मधेश प्रदेश सुरक्षा समितिको बैठक पश्चात समितिले राजविराजमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
सम्मेलनमा महिला हिंसा र तथा अपराधिक क्रियाकलापका घटना पनि प्रदेशकालागि मूख्य चुनौती रहेको उनले बताए। यस्ता घटनाहरु नियन्त्रण गर्न प्रदेश सुरक्षा समिति अझ सक्रिय हुने मन्त्री लेखीको भनाई छ।
अपराधिक क्रियाकलाप नियन्त्रण गर्नु सुरक्षा निकायको जिम्मेवारी भएपनि सबै प्रदेश बासीले पनि आफ्नो ठाउँबाट सहयोग र सुरक्षा सतर्कता अपनाउन जरुरी भएको गृहमन्त्री लेखीले बताए । सुरक्षा समितिको बैठकमा प्रदेशका गृहमन्त्रीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुखहरुको उपस्थिती थियो ।















