क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।साहुको पैसा हत्याउन लुटपाटको नाटक गरेको आरोपमा एकजनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । बिरगञ्ज महानगरपालिका-२१ का सामसोदिन आलमलाई प्रहरीले नियन्त्रणमा लिएको हो।उनीमाथि ठगी,आपराधिक बिश्वासघात गरि अफवाह फैलाएको आरोप रहेको छ।
प्र-२-०३-००१च ५९५८ नम्बरको बोलेरो लिएर चालक आलम बिरगञ्जवाट बोईलर कुखुरा लिन यही सोमबार राजविराज आउँदै गरेको बेला बेलुका ७ बजे राजविराज रुपनी सडक खण्डमा नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा चढी आएका चारजनाले पेस्तोल देखाउँदै उनको ३ लाख ८० हजार रुपैया र बोलेरोको साँचो लिएर फरार भएको सप्तरी प्रहरीमा जानकारी गराएका थिए।उनीसँगै बोल्न र सुन्न नस्कने सहचालक बाराको कलैया उपमाहानगरपालिका-७का अमिर श्रेष्ठ पनि थिए।
उक्त खवरपछि प्रहरीले जिल्लाको ठाउँठाउँमा कडाइ गरेको थियो ।गाडी चालक आलमले साहको पसलबाट कुखुरा खरिदको लागि लिएको पैसा लुटिएको बताएका थिए।घटना भएको भनिएको स्थलमा पुगेको प्रहरीले चेकजाँचका क्रममा बोलेरोको साँचो गाडी रहेकै स्थानमा फेला परेको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले बताए।
त्यहाँ बुझ्दा सहचालक श्रेष्ठले संकेत गर्दै प्रहरीलाई चालक आलमले नै पैसा राखेको बताए।त्यसपछि आलमलाई प्रहरीले नियन्त्रणमा लिइ कारवाही अघि बढाएको छ। प्रहरी नायव उपरिक्षक बस्नेतले अदालतबाट दुई दिनको म्याद थप गराएर अनुस्धान भइरहेको बताए।















