क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लागुऔषध दुर्व्यसनबाट युवाहरुलाई जोगाउन आवश्यक सहकार्यको लागि भारतीय पक्षलाई आग्रह गरेको छ। भारतको बिहार राज्यस्थित कुनौली बजारमा शनिबार नदी नियन्त्रण सम्बन्धी छलफलमा पुगेका उनले लागुऔषध सेवनमा रोक लगाउन बोर्डरमा कडाइ गर्न भारतीय प्रशासनसँग आग्रह गरेका हुन्।
बिहारमा मदिरा प्रतिबन्धित रहेपनि नेपालबाट मदिरा बिहार आउने गरेको संज्ञान आफूलाई भएको भन्दै त्यसलाई आफ्नो पक्षबाट नियन्त्रण गर्ने समेत बताए।युवाहरु कुलतमा फसिरहेकोले यसलाई नियन्त्रण नगरिए उनीहरूको भविष्य अन्धकारमय हुने उनले बताए। ‘नेपालबाट युवाहरू लागुऔषध सेवन गर्न बोर्डर कटेर भारत आउने गर्छ, यसको प्रभाव भारतको युवाहरूमा पनि पर्छ, उनीहरूलाई पनि यसको आदत लाग्छ,’ मुख्यमन्त्री सिंहले भने। क्षणिक फाइदाको लागि व्यपारीहरूले यस्तो गर्ने गरेकोले त्यसमा भारतीय पक्षको ध्यानाकर्षण गराएका हुन् ।
मुख्यमन्त्री सिंहले भने,’युवाहरूको भविष्य जोगाउन दुवै राष्ट्रको भुमिका अहम छ, हामी यसमा जिरो टोलरेन्शमा काम गरौं, यो समस्यालाई निस्तेज पारौं।’खाँडो नदीको बहाबले भारतीय क्षेत्रमा भएको समस्या समाधान गर्न दुई पक्षबीच छलफल भएको थियो।
नेपालबाट मुख्यमन्त्री सिंह, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरूण मंडल तथा भारतबाट लोकसभा सांसद दिलेश्वर कामैत, बिहार विधानसभा सदस्य अनिरुद्ध प्रसाद यादव, निर्मली प्रखण्ड प्रमुख रामप्रवेश यादव, हुनमामननगर कंकालिनी नगरपालिका प्रमुख विरेन्द्र माझी, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरूण मंडल, तिलाठी कोइलाडीका वडाध्यक्षहरू, सीमा रक्षक देवनारायण यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
छलफलमा मुख्यमन्त्री सिंहले नेपालतर्फ समस्यालाई समाधान गर्दै भारतीय पक्षले काम गरे आफुहरूले सघाउने बताए।’नेपाल भारत रोटीबेटीको सम्बन्ध छ, अन्तरराष्ट्रिय मुदा भएकोले यसमा केही बाध्यात्मक स्थितिहरू हुनजान्छ, हामी आफ्नो पक्षको प्रमुख जिल्ला अधिकारी र खाँडोका डिईलाई यो विषयको जानकारी गराउँछौँ र यसमा सहकार्य गर्न भन्छौँ।’ उनले भने।















