क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले ५९ परिवारलाई नि:शुल्क विद्युतीय मिटर वितरण गरेको छ।
दलित समुदायका एकल र विपन्न महिलालाई शनिबार पालिकाले मिटर उपलब्ध गराएको हो।
पालिकाका अध्यक्ष विद्यानन्द चौधरीले विद्युतीय पुर्तीले उनीहरूको जिवनयापन सहज हुने विश्वासले मिटर दिइएको बताए।
‘विद्युत् जस्तो आधारभूत आवश्यकताको अभावले यी परिवारहरूले हरेक दिन जीवनमा अनेकौं कठिनाइ भोगिरहेको थिए । बत्ती नहुँदा बालबालिकाको पढाइमा बाधा, महिलाहरूको घरधन्दा र सानातिना रोजगारीका काममा अप्ठ्यारो, र सामान्य जीवनका हरेक गतिविधिमा असुविधा थियो।,’ उनले भने, ‘तर आर्थिक रूपमा पनि यो समस्या समाधान गर्न नसकिने अवस्था भएकोले यो पहलले यी परिवारहरूलाई न केवल उज्यालोको सुविधा दिनेछ, शिक्षा, रोजगारी, र दैनिक कार्यहरूमा सहजता ल्याउनेछ।’
छिन्नमस्ता गाउँपालिकाले आफ्नो स्रोत र क्षमताभित्र रहेर आगामी दिनमा अझ धेरै महिलाहरू, एकल महिला, विपन्न वर्ग, र दलित समुदायलाई यस्ता सुविधा उपलब्ध गराउने उनले बताए।















